वीरगन्ज :

मेयरको लापरबाहीको कारण हजारौँ विद्यार्थीको भविष्य अन्योल

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.8kViews
1681 Shares

रौतहट,२५ पुस । कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत १२ हजारभन्दा बढी विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन्। स्थानीय अभिभावक र शिक्षकहरूले मेयर अजयप्रकाश जैसवालको लापरबाहीलाई यस समस्याको मुख्य कारण ठहराएका छन्।

नगरपालिका अन्तर्गतका २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। शैक्षिकसत्रअनुसार अर्धवार्षिक परीक्षा गत कात्तिक मसान्तसम्म सम्पन्न हुनुपर्ने भए पनि पुसको अन्त्यसम्म परीक्षा सञ्चालन गर्न स्रोतसाधन उपलब्ध नगराइएको प्रधानाध्यापक राममंगल यादवले बताए।

परीक्षा सञ्चालनको लागि आवश्यक बजेट नगरपालिकाले समयमा उपलब्ध नगराएको भन्दै स्थानीय शिक्षक र वडा अध्यक्षहरूले मेयर जैसवालमाथि गम्भीर आरोप लगाएका छन्। वडा नं. ७ का अध्यक्ष सहिद मियाँ दर्जीले मेयरको चरम लापरबाहीले विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए।

तर, नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले परीक्षा सञ्चालनमा भएको ढिलाइको कारण वडा अध्यक्षहरूले बजेट छुट्याउन नसकेको भन्दै बचाउ गरे। उनले तालाबन्दीका कारण कठिनाइ भए पनि अर्धवार्षिक परीक्षा सञ्चालनका लागि प्रयासरत रहेको दाबी गरे।

नगरपालिकाकी उपमेयर रिता देवी यादवले शिक्षा संयोजक र मेयर जैसवालले झुटो बहाना बनाएको आरोप लगाइन्। उनले निर्वाचित भएदेखि नै नगरपालिकाले वार्षिक र अर्धवार्षिक परीक्षाको लागि आवश्यक सम्पूर्ण खर्च दिने परम्परा रहेको बताउँदै हालको स्थितिलाई मेयरको गैरजिम्मेवारीको उदाहरणको रूपमा लिएकी छन्।

तालाबन्दी, अनियमितता, र मनपरी बजेट खर्चका कारण नगरपालिकाले शिक्षा क्षेत्रलाई बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्। इन्धन, डिपिआर, आर्थिक सहयोग र करार कर्मचारीको तलबजस्ता शीर्षकमा करोडौं रुपैयाँ खर्च गर्ने नगरपालिकाले हजारौं विद्यार्थीको भविष्यप्रति संवेदनशील नभएको उनीहरूको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *