जनकपुर,१७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा सञ्चालनमा रहेका आठ अस्पतालको अनुगमन गरेका छन्। अनुगमनपछि अनधिकृत रूपमा सेवा दिइरहेका ५ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार सम्पन्न अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालि लाई मुख्यमन्त्री सिंहले तत्काल सेवा बन्द गर्न आदेश दिएका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार ती अस्पतालहरूले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकाले अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालि ले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालि लाई सेवा अनुमतिपत्र नवीकरण गर्न भनिएको छ।
मुख्यमन्त्री सिंहले पछिल्लो समय प्रदेशभरका निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिँदै आएका छन्। मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पतालहरू बन्द गर्ने अभियानलाई निरन्तरता दिइने उनले बताएका छन्।
प्रतिक्रिया