
श्रेणी : राजनीति
काठमाडौं । माओवादी धारका पार्टीहरुले संयुक्तरुपमा शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन अपील गर्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीधारका पार्टीका नेताहरुको बैठकले आगामी आइतबार संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाकाबारेमा आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।
संयुक्त पत्रकार सम्मेलनपछि फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाकाबारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादीका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । बैठकले शान्ति प्रक्रियालाई विथोल्न खोजिएको भन्दै आपत्तिसमेत जनाएको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताए ।
शान्ति प्रक्रिया उल्ट्याउने खालका प्रवृत्तिहरु देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको उनले बताए । महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै सरकार बिस्तार हुने बताए ।


प्रतिक्रिया