वीरगन्ज :

महावीर पुनको पहलमा पुनः सञ्चालनमा आएको कृषि औजार कारखाना: उत्पादन बजारमा

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.9kViews
1700 Shares

बीरगन्ज,०९ चैत । बीरगन्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका विभिन्न साना–ठूला कृषि उपकरणहरू अहिले बजारमा धमाधम बिक्री भइरहेका छन्। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा करिब १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरिसकेको छ।

कारखानाका इन्जिनियर रितेश देवका अनुसार आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरको औजार बिक्री गर्ने लक्ष्य राखिएको छ। हालसम्म ३० भन्दा बढी औजारमा अनुसन्धान गरिसकिएको र १० प्रकारका औजार उत्पादन गरी बजारमा बिक्री भइरहेको उनले जानकारी दिए।

कारखानाले किसानले सहजै किन्न सक्ने गरी १ हजारदेखि १ लाख रुपैयाँसम्म मूल्यका औजार उत्पादन गरिरहेको छ। मकै, धान, गहुँ, उखु र आलु रोप्ने तथा गोडमेल गर्ने मेसिन, काट्ने औजार, हाते ट्याक्टर ट्रली तथा केराको रेशाबाट फाइबर बनाउने मेसिन समेत उत्पादन गरिएको छ।

महावीर पुनले आफ्ना पुस्तक बिक्रीबाट २० करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेका छन्, जसमा करिब ३ करोड रुपैयाँ कारखाना सञ्चालनमा लगानी गरिएको छ। कारखानामा हाल ४५ जना कर्मचारी कार्यरत छन् र मासिक करिब ६ लाख रुपैयाँ खर्च हुने गर्दछ।

२०५९ सालदेखि बन्द रहेको यो कारखाना २०७९ कात्तिकमा राष्ट्रिय आविष्कार केन्द्रले नेपाल सरकारसँग १० वर्षका लागि सम्झौता गरी पुनः सञ्चालनमा ल्याएको हो।

यद्यपि, कच्चा पदार्थको अभाव र फलामको बढ्दो मूल्यका कारण उत्पादनमा केही चुनौती देखिएको इन्जिनियर देवले बताए।

यसैबीच, कारखानाको सफल सञ्चालन हेर्न महावीर पुन निर्वाचित भएको म्याग्दी जिल्लाबाट समेत सर्वसाधारण अवलोकनका लागि आउने क्रम बढेको छ। स्थानीयले बन्द उद्योग पुनः सञ्चालनमा आएको र उत्पादन भइरहेको देखेर खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *