
श्रेणी : मधेस
बीरगन्ज,०१ असार । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल पर्यटन बोर्डले मधेसका पर्यटकीय सम्भावनाहरूमाथि आवश्यक ध्यान नदिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। शनिबार वीरगन्जमा सम्पन्न ‘मधेस टुरिज्म मिट–२०२५’ मा प्रमुख अतिथिका रूपमा बोल्दै मेयर सिंहले वीरगन्ज जस्तो ऐतिहासिक र धार्मिक महत्व बोकेको शहरलाई सरकार र पर्यटन बोर्डले बेवास्ता गरेको टिप्पणी गरे।
उनले वीरगन्जमा रहेको १३७ वर्ष पुरानो नृसिंह मन्दिर, ऐतिहासिक पशुपतिनाथ मन्दिर, र पर्सा राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरू धार्मिक, सांस्कृतिक तथा प्रकृतिपरक पर्यटनको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण भए पनि पर्यटन बोर्डको दृष्टि काठमाडौं, पोखरा र चितवनमै सीमित रहेको बताए।
“वीरगन्जमा यस्ता ऐतिहासिक सम्पदा छन्, जसले हजारौं पर्यटक तान्न सक्छन्। तर यहाँ प्रचार, पूर्वाधार र लगानी छैन,” सिंहले भने। मधेस प्रदेशमा धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता रहे पनि राज्यले त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ।
तर, सरकार र बोर्डको बेवास्ताबीच पनि वीरगन्ज महानगरले आफ्नै साधन स्रोतबाट ‘मुकाम’ पुस्तक प्रकाशित गरी पर्सा, बारा, र रौतहटका पर्यटकीय गन्तव्यहरूको परिचय दिने प्रयास गरिरहेको मेयर सिंहले जानकारी दिए।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि मधेसकै प्रमुख पर्यटकीय गन्तव्य ठोरी संघ र प्रदेश सरकारको लगानी अभावमा ओझेलमा परेको गुनासो गरे।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भने मधेसमा प्रशस्त सम्भावना रहेको स्वीकार गर्दै स्थानीय तह, निजी क्षेत्र र बोर्डबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेसलाई भारतीय पर्यटकको लागि प्रमुख गन्तव्य बनाउन रणनीतिक योजना आवश्यक रहेकोमा जोड दिए।
त्यसैगरी, भारत बिहारका टुरिजम एसोसिएसन अध्यक्ष एसके शर्माले नेपाल–भारतबीच धार्मिक पर्यटनको साझा विकास गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

प्रतिक्रिया