![](https://birgunjreport.com/wp-content/uploads/2025/01/madesh-pradesh-4.webp)
श्रेणी : मधेस
जनकपुर,२६ पुस । मधेश प्रदेश सरकारभित्र सत्तारुढ दलहरूबीचको विवाद खुलेर बाहिर आएको छ। प्रदेश सभामा कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले सरकारको नेतृत्व गरिरहेको जनमत पार्टी र यसको अध्यक्ष डा. सिके राउतलाई कडा शब्दमा आलोचना गरेपछि राजनीतिक खटपट झन् चर्किएको छ।
प्रदेश सभा बैठकमा यादवले मुख्यमन्त्री सतिश सिंहको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई “वैज्ञानिक भए पनि व्यवहारिक ज्ञानको अभाव” भएको भन्दै आलोचना गरे। उनले जनमत पार्टीमाथि काठमाडौँबाट सरकार नियन्त्रण गर्न खोजेको र गठबन्धनप्रति अनावश्यक आरोप लगाएको आरोप लगाए।
जनमत पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सत्ता साझेदार कांग्रेस र एमालेमाथि ८ बुँदे आरोप लगाएको थियो। ती आरोपहरूमा मन्त्रीहरूले मुख्यमन्त्रीको निर्देशन नमान्ने, बजेट खर्चमा अवरोध पुर्याउने, र अनियमिततामा संलग्न हुने जस्ता विषय उठाइएका थिए। यसलाई डा. सिके राउतले विभिन्न अन्तर्वार्तामा पनि दोहोर्याएका छन्।
कांग्रेस नेता यादवले जनमत पार्टीलाई “आफ्ना कमजोरी लुकाउन दोष अरूलाई थोपर्ने” पार्टीको रूपमा चित्रित गरे। उनले जनमत पार्टीले सहमति उल्ट्याएर काम गर्न नसकेको र गठबन्धनप्रति अनावश्यक आरोप लगाएको बताए।
सत्तारुढ दलहरूको आपसी खटपटका कारण चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म पनि बजेट खर्च गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। खुल्ला प्रतिस्पर्धाका माध्यमबाट काम गराउने व्यवस्थाले जनमत र कांग्रेसबीचको मतभेद झन् बढाएको छ।
जनमत पार्टीले सत्तारुढ गठबन्धनलाई दोष दिँदै आएको छ भने कांग्रेस र एमालेले जनमत पार्टीको नेतृत्वलाई असफल ठहर गरेका छन्। यो विवादले मधेश प्रदेश सरकारलाई अस्थिरताको दिशातिर धकेल्ने संकेत देखिएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया