वीरगन्ज :

भिस्वा नाकामा तस्करी पुनः सुरु गर्ने तयारी

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.6kViews
1230 Shares

वीरगन्ज,१९ चैत । पर्सा जिल्लाको सीमावर्ती क्षेत्र छिपहरमाई गाउँपालिकाको भिस्वा नाकामा भन्सार छली चोरी तस्करी गर्ने गतिविधि पुनः सुरु गर्ने तयारी भइरहेको खुलासा भएको छ । विगत एक वर्षदेखि बन्द रहेको तस्करी पुनः सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकायमा प्रहरी निरीक्षक र सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

भिस्वा नाका प्रयोग गर्दै नेपालबाट हुने संस्थागत तस्करी रोकिएको एक वर्ष बितिसकेको छ । नेपालबाट तस्करीमार्फत भारतको सिकटा पुर्‍याइएको ठूलो मात्रामा चाइनिज लहसुन बरामद भएपछि भिस्वा नाका बन्द गरिएको थियो ।

तर, घरेलु प्रयोजन र साना व्यापारीहरूले सिकटा नाकाबाट थोरै मात्रामा सामान ल्याउने क्रम भने रोकिएको छैन । अहिले तस्करीको परम्परागत स्वरूपलाई पुनः सुरु गर्न लागिएको स्रोतको दाबी छ ।

तस्करी सञ्चालनको तयारीसँगै, सशस्त्र प्रहरी निरीक्षकको एक महिनामै सरुवा गरिएको छ भने अर्को निरीक्षकलाई पुनः भिस्वा नाकामा खटाइएको छ । यसै गरी, चार महिनादेखि बहाल रहेका प्रहरी नायब निरीक्षकको पनि सरुवा गरी अन्यलाई खटाउने तयारी भइरहेको छ । यसले सुरक्षा निकायमा तस्करीको मिलेमतो रहेको आशङ्का थप बलियो बनाएको छ ।

नेपाल लिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फुजी स्याउ, लहसुनलगायतका सामग्रीहरू भिस्वाबाट तस्करीमार्फत भारतको सिकटा पुर्‍याइँदै आएको थियो । नेपाल लिभरका डिस्ट्रिब्युटर गोपाल खेतानसँग खरिद गरिएका सामग्रीहरू भिस्वा नाकाबाट ठूलो परिमाणमा भारत निर्यात गरिने गरिन्थ्यो ।

तर, नाकाको बन्दीपछि अन्य नाकाबाट तस्करी गर्दा बढी खर्च लागेकाले भिस्वा नाका पुनः खोल्ने तयारी भइरहेको छ । स्रोतका अनुसार, भिस्वाबाट तस्करी गर्दा निगरानी कम हुने र सामान सहजै पार गर्न सकिने भएकाले तस्करहरूले भिस्वा नाका खोल्न जोडदार प्रयास गरिरहेका छन् ।

भारतबाट विद्युतीय सामान, खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीहरू पनि तस्करीमार्फत भिस्वा बजार हुँदै नेपालका विभिन्न स्थानमा पुर्‍याइन्थ्यो ।

भिस्वा नाकामा ठूला पसलहरू र गोदामहरू बन्द छन् भने, साना किराना पसलहरू मात्रै सञ्चालनमा छन् । दुई वर्षअघि पनि केही महिनाका लागि नाका बन्द गरिएको थियो र त्यसपछि पुनः सञ्चालनमा आएको थियो ।

विगतमा हुने तस्करीलाई पुनः सुरु गर्ने योजनामा सशस्त्र प्रहरी निरीक्षक र जनपद प्रहरी निरीक्षकको सरुवा गरिएको छ । स्रोतका अनुसार, निकट भविष्यमै नाका तस्करहरूका लागि खुला गरिने तयारी भइरहेको छ ।

तस्करी पुनः सुरु भएमा सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती थपिने र आर्थिक क्षति हुने खतरा रहेको विज्ञहरूले औँल्याएका छन् । सुरक्षा निकायले सतर्कता अपनाउनुपर्ने माग पनि उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *