जनकपुर,१२ फागुन । नेपालबाट भारततर्फ लैजाने क्रममा १०२ जना बालबालिकालाई माईती नेपाल धनुषाले उद्धार गरेको छ। एक वर्षको अवधिमा धनुषा र महोत्तरीका सीमा नाकामा नेपाल रेलवे तथा बसमार्फत भारत जाँदै गरेका ती बालबालिकालाई माईती नेपालको अनुगमन टोलीले प्रहरीको सहयोगमा बचाएको हो।
माईती नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये १८ वर्षमुनिका ५३ जना छन् भने १८ वर्षमाथिका ४९ जना रहेका छन्। उद्धारपछिको सुरक्षित बसोबास कार्यक्रमअन्तर्गत १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ।
संस्थाले एक वर्षको अवधिमा ८,३८२ वटा बसको जाँच गरेको तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतना कार्यक्रममार्फत सचेत पारेको जनाएको छ। साथै, १७२ जनालाई मनोपरामर्श सेवा पनि प्रदान गरिएको छ।
नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानुनी व्यवस्था भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन्। कानुनअनुसार मानव बेचबिखनमा संलग्न पाइएमा २० वर्षसम्मको कैद सजाय र २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ भने वेश्यावृत्तिमा संलग्न गराएमा १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
मानव बेचबिखन रोकथाम तथा पीडित पुनःस्थापनाका लागि माईती नेपालले देशभर २३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ। संस्थाले १८ वटा सुरक्षा आवास गृह, ३ रोकथाम गृह, पुनर्स्थापना केन्द्र, स्नेह गृह, विद्यालय, बाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र तथा आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।
पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षता रहेको थियो। मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनी, ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासवान, तथा शान्ति पुनर्स्थापना केन्द्र प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि थप नियमन र जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको धारणा राखे।
नेपालमा हरेक वर्ष ३५ हजारभन्दा बढी व्यक्ति मानव बेचबिखनको सिकार हुने गरेको तथ्यांक छ, जुन वास्तविक संख्याभन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया