वीरगन्ज :

बीरगन्ज मुख्य सडकमा टाँगा सञ्चालनले ट्राफिकमा चुनौती

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.1kViews
1476 Shares

बीरगन्ज,१३ पुस । बीरगन्जकाे मुख्य बजार क्षेत्र र सडकखण्डमा अव्यवस्थित रुपमा टाँगा सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ। टाँगाका कारण न केवल ट्राफिकमा अवरोध भएको छ, तर सवारी दुर्घटनाको सम्भावना र दुर्गन्ध फैलिने समस्या पनि थपिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, अत्यधिक सवारी चाप हुने स्थानहरू जस्तै घण्टाघरमा टाँगा सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ। “टाँगा चालकलाई सीमित क्षेत्रमा सञ्चालन गर्न आग्रह गर्दै आएका छौं। तर, मुख्य सडकमा टाँगा चलाउँदा दुर्घटना र अन्य समस्याहरू उत्पन्न भइरहेका छन्,” उनले बताए।

वीरगन्जका सडकहरूमा करिब १५० वटा टाँगा सञ्चालनमा छन्। तीमध्ये आधा टाँगा नेपाली र बाँकी भारतीय नागरिकद्वारा सञ्चालन गरिन्छ। यी टाँगाहरू सीमावर्ती भारतीय सहर रक्सौलसम्म पुग्ने भएकाले यात्रुहरूको प्राथमिकतामा पर्छन्।

ट्राफिक प्रहरीले मुख्य सडकबाट टाँगा हटाउन पहल गरिरहे पनि टाँगा चालकहरू प्रशासनको निर्देशन पालना गर्न अटेर गरिरहेका छन्। मंगलबार मात्रै, घण्टाघर क्षेत्रमा चारवटा टाँगालाई नियन्त्रणमा लिई दुई घण्टासम्म होल्ड गरिएको थियो।

यद्यपि, सवारी व्यवस्थापन सहज बनाउन ट्राफिक प्रहरीले टाँगाका लागि विशेष मार्ग तोक्ने प्रयास जारी राखेको छ। “मुख्य सडकबाट टाँगा हटाएर निश्चित मार्गमा मात्र सञ्चालन गर्न सकिए ट्राफिक व्यवस्थापनमा सुधार आउनेछ,” प्रहरी निरीक्षक भट्टले बताए।

तर, यस समस्याको दीर्घकालीन समाधानका लागि प्रशासन र टाँगा सञ्चालकबीच संवाद र सहकार्य आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *