
श्रेणी : कृषि
बीरगन्ज,११ जेठ । बीरगन्ज महानगरपालिकाले किसानहरूलाई लक्ष्य गर्दै धानको खेतीका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ वितरण सुरु गरेको छ। बजार मूल्यभन्दा आधा भाउमा उपलब्ध गराइएको बीउले यस वर्षको भदैया र अगहनी धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
महानगरका ३२ वटै वडाका किसानहरूलाई लक्षित गर्दै बीउ वितरण कार्यक्रम सुरु गरिएको हो। महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धन शाखाकी प्रमुख रोशनी यादवका अनुसार, बीउ वितरण गत शुक्रबारदेखि सुरु भइसकेको छ।
“किसानहरूलाई स्वर्णसुब १ र बहुगुणी २ जातका धान बीउ किलोको ३५ रुपैयाँमा र हर्दिनाथ जातको धान किलोको ३७ रुपैयाँमा वितरण गरिँदैछ,” यादवले जानकारी दिइन्।
धान खेतीका लागि वीरगन्ज महानगरले हालसम्म ८६५ बोरा अर्थात ३१ मेट्रिक टन उन्नत जातको बीउ खरिद गरिसकेको छ। यो बीउ वारुण यन्त्र शाखा परिसरबाट वितरण भइरहेको छ। इच्छुक किसानले कार्यलय समयभित्र सो स्थानमा सम्पर्क गरी बीउ लिन सक्नेछन्।
किसानले धान खेती गर्ने जमिनको क्षेत्रफल अनुसार बीउ पाउने व्यवस्था गरिएको छ। एक कठ्ठा जमिनका लागि एक किलो बीउको दरले वितरण भइरहेको प्रमुख यादवले बताइन्।
महानगरभित्र धान खेतीका लागि उपयुक्त जमिन ६ हजार ७ सय ४९ हेक्टर रहेको छ। यस्तो विशाल खेतीयोग्य क्षेत्रलाई ध्यानमा राख्दै महानगरले बीउ वितरणलाई प्रभावकारी बनाउन प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया