वीरगन्ज :

बीरगन्जमा सीमापार सिग्नल बुस्टरको धन्दा: प्रहरीले चार डिभाइस जफत

श्रेणी : अन्तर्राष्ट्रिय

2 hours
Pradeep Sah
2.2kViews
1706 Shares

बीरगन्ज,१० वैशाख । भारतको सीमावर्ती क्षेत्रमा अवैध रूपमा राखिएका चारवटा मोबाइल सिग्नल बुस्टर र एम्प्लिफायर प्रहरी र साइबर ब्युरोको संयुक्त टोलीले जफत गरेको छ। भारतीय सेवा प्रदायक कम्पनीका सीम सजिलै चलाउन प्रयोग गरिएका ती उपकरणहरू एयरटेल, जियो र बीएसएनएलजस्ता नेटवर्कको सिग्नल बलियो बनाउन प्रयोग भइरहेका थिए।

पर्साका एसपी गौतम मिश्रका अनुसार यो अवैध उपकरण प्रयोगले नेपाली टेलिकम सेवा प्रदायकहरूको आम्दानीमा असर पुग्नुका साथै सरकारको राजस्वमा समेत नकारात्मक प्रभाव पारिरहेको छ। “हामीले अनुसन्धान गर्दा थाहा भयो, मानिसहरूले आफ्नै घरको छानामा यस्ता डिभाइस राखेर भारतीय सीम चलाइरहेका थिए,” उनले बताए।

सिग्नल बुस्टरको प्रयोगले एकातर्फ भारतीय नेटवर्क सजिलै चलाउने वातावरण बनाउँछ भने अर्कोतर्फ नेपाली नेटवर्कमा ‘इन्टर्फरेन्स’ (signal disturbance) पैदा गरेर फोन सम्पर्कमा समस्या ल्याउँछ। एनसेलका अनुसार यिनै कारण वीरगन्ज आसपासको क्षेत्रमा ‘नेटवर्क इन्टर्फरेन्स’ देखिएपछि दूरसञ्चार प्राधिकरणलाई खबर गरिएको थियो।

प्राधिकरणले यसअघि चैत १७ मा सूचना निकालेर सिग्नल बुस्टर प्रयोग नगर्न आग्रह गरेको थियो। तर यसको बेवास्ता गर्दै अझै दर्जनौं यस्ता डिभाइस सीमावर्ती क्षेत्रमा प्रयोग भइरहेको आशंका छ।

टेलिकम विज्ञहरूको भनाइमा बुस्टर प्रयोगले सेवा सुधार्ने होइन, अझ जटिल बनाउने हो। “फ्रिक्वेन्सी खप्टिने र बीटीएसमा असर हुने भएकाले फोन नलाग्ने समस्या आउँछ,” प्राधिकरणका निर्देशक विजय कुमार राय भन्छन्।

बजारमा खुलेआम यस्ता उपकरण बिक्री हुने गरेको र मानिसहरूले सजिलै किनेर प्रयोग गरिरहेको अवस्थामा प्रहरी र प्राधिकरणबीच समन्वय गरी कडाइ गर्ने तयारी भइरहेको छ।

नेपालको दूरसञ्चार ऐन, २०५३ र रेडियो ऐन, २०१४ अनुसार यस्ता उपकरण बिना अनुमति प्रयोग गर्न नपाइने प्रष्ट उल्लेख छ। तसर्थ, यो केवल प्राविधिक समस्या मात्र होइन, कानुनी अपराध पनि हो जसले मुलुकको दूरसञ्चार सुरक्षामा खतरा पुर्याउन सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *