
श्रेणी : मधेस
बीरगन्ज,३१ वैशाख । हरित शहर निर्माणको लक्ष्यसहित बीरगन्जमा एक बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “सफा, हरित र वैभव बीरगन्ज महा–अभियान” अन्तर्गत “जहाँ खाली, त्यहाँ हरियाली” भन्ने नाराका साथ सम्पन्न कार्यक्रम बीरगन्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा आयोजित गरिएको हो।
बीरगन्ज–१० स्थित आदर्श रंगशालामा बिहान ८ बजे सुरु भएको कार्यक्रममा विभिन्न जातका करिब १५० बिरुवाहरू रोपिएका छन्। कार्यक्रममा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी थिए भने ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अध्यक्षता गरेका थिए।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूमा प्रशासनिक प्रमुख अरविन्दलाल कर्ण, सरसफाइ अधिकृत सर्फुदिन मियाँ, वातावरण शाखाका प्रकाश ऐर र आमोदिन हवारी, नगर प्रहरी प्रमुख हरि भुसाल, प्रहरी नायब निरीक्षक प्रदीप गोले, पत्रकार सुष्मिता यादव र अजित भुजेल, समाजसेवी बसन्त उपाध्याय, ग्रीन सिटीका पदाधिकारी सञ्जय शर्मा, रतन टेमानी र अन्यको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रम आयोजकहरूका अनुसार यस अभियानले वातावरणीय सन्तुलन कायम गर्न मात्र नभई बीरगन्जलाई हरियालीयुक्त, स्वच्छ र पर्यावरणमैत्री शहर बनाउने सन्देश प्रवाह गरेको छ। यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै वीरगंजलाई हरित शहरको नमूना बनाउने लक्ष्य लिइएको छ।
नगरप्रमुख सिंहले वातावरण संरक्षणको जिम्मेवारी सबै नागरिकको भएको उल्लेख गर्दै खाली जमिनमा हरियाली फैलाउन सामूहिक प्रयासको आवश्यकता औँल्याए। उनले वृक्षारोपण जस्ता अभियानमार्फत भविष्यका पुस्तालाई सुरक्षित र स्वच्छ वातावरण हस्तान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया