वीरगन्ज :

बारा–पर्सामा बढ्दो गर्मीले जनजीवन कष्टकर बन्दै

श्रेणी : मधेस

6 hours
Pradeep Sah
1.7kViews
1797 Shares

बीरगन्ज,३० वैशाख । बैशाखको अन्त्यसँगै बारा र पर्सा जिल्लामा गर्मीको तीव्रता ह्वात्तै बढेको छ। लगातार उकालो लागिरहेको तापक्रम र त्यससँगै चल्ने तातो हावाले जनजीवन कष्टकर बनाएको छ। विशेषगरी बीरगन्ज, कलैया, भवानीपुर, मझौलिया, पोखरिया, ठोरी लगायतका क्षेत्रहरूमा गर्मीको प्रभाव निकै चर्को देखिएको छ।

दिउँसोको समयमा सडकहरू सुनसान देखिन्छन् भने मानिसहरू घरभित्रै सीमित हुन थालेका छन्। अत्यधिक गर्मीका कारण बोटबिरुवाहरू सुक्न थालेका छन् र जमिनमा चिरा पर्ने अवस्था देखिएको छ। यसले बालीहरूमा प्रत्यक्ष असर पारेको छ, जसका कारण किसानहरू मर्कामा परेका छन्।

कृषिमा परेको असरका कारण बाली सुक्ने खतरा बढेको छ भने समयमै पानीको व्यवस्था नहुँदा उत्पादनमा ठूलो क्षति हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

गर्मीको प्रकोप बढेसँगै चिसो खानेकुरा र पेय पदार्थको माग पनि उकालो लागेको छ। स्थानीय बजारहरूमा सातु, दही, तरबुजा, लसी, केरा र बोतलबन्द चिसो पेय पदार्थको बिक्री उल्लेखनीय रूपमा बढेको व्यापारीहरूले बताएका छन्।

स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण ज्वरो, चक्कर, थकान, निर्जलीकरणजस्ता स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनीहरूले दिउँसोको चर्को घाममा ननिस्कन, छाता र चश्माको प्रयोग गर्न र प्रशस्त मात्रामा पानी पिउन सुझाव दिएका छन्।

स्थानीय प्रशासन तथा स्वास्थ्य निकायहरूले सर्वसाधारणलाई गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

गर्मीको यो स्थिति अझै केही हप्ता रहने अनुमान गरिएको छ। यस्तो अवस्थामा जनस्वास्थ्य र कृषि दुबै क्षेत्रमा सावधानी अत्यावश्यक भएको विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *