राजविराज,१५ पुस । बहुविवाह मुद्दामा कैद तथा जरिवानाको फैसला भएपछि लामो समयदेखि फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका वडा नम्बर–५, पथरी टोल निवासी कवितादेवी सरदारलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार उनी अदालतको फैसला पश्चात फरार अवस्थामा थिइन्।
सप्तरी जिल्ला अदालतले सरदारलाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै १ वर्ष ५ महिना १६ दिन कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी सोमबार सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतका फैसलापछि फरार रहेका प्रतिवादीहरूको खोजतलास तथा फैसला कार्यान्वयनलाई निरन्तरता दिँदै आएको समेत जानकारी दिएको छ।

प्रतिक्रिया