सर्लाही,०९ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति सवारी दुर्घटनापछि भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ।
प्रहरीका अनुसार बीआर ०१ पीएम ८८३३ नम्बरको कारले पूर्वबाट आउँदै गर्दा मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि चालकले कार पछाडि फर्काएर भाग्ने प्रयास गर्दा सोही दिशाबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको जिपमा समेत ठोक्किएको थियो।
दुर्घटनापछि कारमा आगलागी भई अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमै रहेको कारलाई नियन्त्रणमा लिएर कार्यालय ल्याउने तयारी भइरहेको छ।
प्रहरीले कार चालक भारत, बिहारका ५० वर्षीय शरद प्रकाश चौधरी, बस चालक महोत्तरी बर्दिवास–७ का किरण राई र जिप चालक सर्लाही हरिवन–६ का अजयकुमार महत्तोलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया