२०८२ बैशाख १३, शनिबार

वीरगन्ज :
२३:५२:३०

प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको अनुभूति भइरहेको छ : रघुजी पन्त

श्रेणी : BANNER

2 years
birgunj report
49Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा राजदूत शर्माले हिन्दुराष्ट्रको वकालत गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्साहन दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।’

एक दैनिक पत्रिकाको अन्तरवार्तामा राजदूत शर्माले घुमाएर हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको उनले टिप्पणी गरे । सांसद पन्तले राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर संविधान विरोधी काम गरेको आरोप लगाए ।

नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको भन्दै सांसद पन्तले प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको बताए ।

उनले भने, ‘पञ्चायत आयो, गयो, बहुदल आयो, लोकतन्त्र आयो, नयाँ संविधान बन्यो । तर नेपालले कहिल्यै पनि परराष्ट्र नीतिमा फेरबदल ल्याएको छैन । तर पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ।’

उनले राजदूत शर्माले ईपीजीको प्रतिवेदनबारे व्यक्त गरेको विचार पनि आपत्तिजनक रहेको बताए । उनले भने, ‘एउटा देशका लागि नियुक्त भएको राजदूत जथाभावी धारणा राख्न मिल्दैन । यदि उहाँले बोलेको कुराले सरकारको प्रतिनिधित्व गर्छ भने सरकारले जवाफ दिनुपर्छ ।’

उनले यो विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको बताए । उनले भने, ‘सभामुख यी विषयमा स्पष्ट जवाफ आओस्। नत्र भने हामीले यो विषयलाई गम्भीरका साथ अघि बढाउन थप चाइला चाल्नुपर्ने देखिन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *