काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।
‘Hades’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका पाँचथरका रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले नियन्त्रणमा लिएको हो। उनी फाल्गुनन्द गाउँपालिका–७ का बासिन्दा हुन्।
प्रहरीका अनुसार पोखरेलले प्रधानमन्त्रीसहित अन्य राजनीतिक नेतृत्वलाई लक्षित गर्दै भ्रामक तथा मानमर्दन हुने भिडियो सामग्री सार्वजनिक गरेका थिए। साइबर ब्यूरोको अनुसन्धान र समन्वयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर अपराध) मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिको चरित्रहत्या गर्ने तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि अश्लील टिप्पणी गर्ने प्रवृत्तिविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

प्रतिक्रिया