
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा जोडिएको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेकको अवस्थाबारे सरकारसँग जिज्ञासा राखेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा संसद बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीको अहिलेको अवस्थाबारे जिज्ञासा राखेका छन् ।
अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सरकारले यसबारे केही नबोलेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आएको छ । यथार्थ के हो ? सदनमार्फत जानकारी गराउनु पर्दैन ? प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन्। त्यहाँ बोलिँदैन। सदनलाई जानकारी गराउन माग गर्दछु ।’
उनले वर्तमान सरकारले नेपालको भूमिको रक्षा गर्न नसक्ने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड केही दिनमा भारत भ्रमणमा जाने भएकाले नेपालको समस्या खुलस्त राख्न आग्रह गरे ।
उनले भारत छिमेकी मित्र राष्ट्र भएकाले काँतर मन र चिसोपन नराख्न आग्रह गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमणमा जाँदै हुनुहुन्छ। यस हिसाबले म गम्भीर समस्या यहाँ देख्छु। भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो। मित्रसँग आफूलाई परेको मर्का राख्न र खुलस्त कुरा गर्न सक्नुपर्यो। चिसोपन राख्नुभएन। काँतर मन राख्न पनि भएन। अनि बोल्न नसक्ने हुनु भएन। मित्रसँग मित्रतापूर्ण ढंगले खुल्ला कुरा गर्नुपार्यो। त्यसो गर्दा सबैलाई फाइदा हुन्छ ।’

प्रतिक्रिया