बीरगन्ज,१३ फागुन । लामो प्रतीक्षा र संघर्षपछि पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुन लागेपछि स्थानीयवासी खुसी छन्। अब साना कामका लागि बीरगन्ज धाउनु नपर्ने भएपछि ग्रामीण भेगका नागरिकहरू उत्साहित भएका छन्।
तर, सो कार्यालय उद्घाटनका लागि एक होइन, चार-चार जना मन्त्री आउने घोषणा भएपछि स्थानीयहरूबीच हाँसो, व्यंग्य र आलोचना सुरु भएको छ।
पोखरिया नगरपालिकाका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले संयुक्त रूपमा उद्घाटन गर्नेछन्।
चार मन्त्रीको सहभागितालाई लिएर स्थानीयवासीले सरकारको प्राथमिकता र औचित्यमाथि प्रश्न उठाएका छन्। “एउटा सानो सेवा केन्द्र खोल्न चार मन्त्री चाहिन्छ भने ठूला आयोजनाहरूका लागि त पूरा मन्त्रिपरिषद् नै चाहिने भयो!” एक स्थानीय समाजसेवीको व्यंग्यात्मक प्रतिक्रिया थियो।
स्थानीयहरूका अनुसार मन्त्रीहरूले यस्ता उद्घाटन समारोहमा समय खर्च गर्नुभन्दा बेरोजगारी, पूर्वाधार र सेवाको अभाव जस्ता ठूला समस्यामा ध्यान दिनुपर्ने हो। उनीहरूले यसलाई ‘अनावश्यक तामझाम’ भन्दै सरकारी स्रोतको दुरुपयोग भएको बताएका छन्।
तर, नगरपालिकाले भने चार मन्त्रीको सहभागिता ऐतिहासिक क्षण भएको दाबी गरेको छ। यद्यपि, धेरै स्थानीयवासी यो समारोह सेवाभन्दा पनि ‘राजनीतिक प्रदर्शन’को माध्यम मात्र भएको टिप्पणी गर्छन्।
प्रतिक्रिया