धनुषा, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना दलहरूसँगको सहकार्यले उनीहरुभित्रको कमजोरी माओवादीभित्र पनि सर्न थालेको स्वीकार गरेका छन्। उनले यस समस्याको समाधान खोज्न आफूहरू पुनः जनतासँग फर्किएको बताएका छन् ।
धनुषाको हंसपुर नगरपालिकामा आयोजित ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ अन्तर्गत खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र देखिएको समस्याको उपचार जनताले मात्रै गर्नसक्ने निष्कर्षसहित अभियान सुरु गरिएको बताए ।
प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँग पटक-पटक सहकार्य गर्दा उनीहरूका कमजोर प्रवृत्तिहरू माओवादीभित्र पनि आउन थालेको बताएका छन् । उनले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकहरू गरी समस्याको पहिचान गरिसकेको उल्लेख गर्दै यसको समाधानका लागि जनताको माझ आएको स्पष्ट पारे ।
उनले लाखौं जनताले माओवादीप्रति राखेको विश्वास केही हदसम्म गुमेको स्वीकार गर्दै आफ्ना कमजोरी सच्याएर पुनः जनताको बीचमा फर्कन केन्द्रीय समिति बैठकबाट निर्देशन आएको बताए। हुलाकी मार्ग वरिपरि रहेका उत्पीडित वर्ग र समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको वास्तविक अवस्था बुझ्न अभियान थालिएको उनले जानकारी गराए ।
प्रचण्डले जनताको जीवनशैलीमा घुलमिल हुन माओवादी नेता तथा कार्यकर्ताहरू उनीहरूसँगै बस्ने, उनीहरूले खाने खानै खाने, उनीहरूसँगै सुत्ने जस्ता अभ्यास गरिरहेको बताए ।
हुलाकी मार्ग केन्द्रित यो अभियानले मधेसको रुपरेखा परिवर्तन गर्न मद्दत गर्ने प्रचण्डको भनाइ छ। उनले २०७३ सालमा प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुलाकी मार्ग निर्माणका लागि आवश्यक पहल गरेको स्मरण गराए ।
मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने मान्यताका साथ माओवादीले पहिलो पटक मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध सुरु गरेको उनले बताए। साथै, उनले मधेसवादी दलहरू विभाजन, नातावाद र कृपावादमा फसेकाले अब मधेसको नेतृत्व गर्न नसक्ने भन्दै माओवादी नै एकमात्र विकल्प भएको दाबी गरे ।
माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीको जनतामुखी नीति अपनाएपछि मधेसी जनताले पुनः माओवादीप्रति विश्वास गर्न थालेको बताए। उनले मधेस जागरण अभियानबाट जनतामा चेतना फैलिएको भन्दै गाउँ-गाउँमा संगठन सुदृढ पारिने बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनकै कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी तथा समानुपातिक अधिकार पाएको बताए। उनले मधेसवादी दलहरू कमजोर भएकाले माओवादी बलियो बनाउन आवश्यक रहेको धारणा राखे ।
यादवले मधेसी जनताको मुक्तिका लागि आफूले मधेसवादी दल परित्याग गरी नेपाल समाजवादी पार्टी गठन गरेको उल्लेख गर्दै माओवादीसँग एकता प्रक्रियामा रहेको जानकारी गराए। उनले मधेसमा अब माओवादी नै एक मात्र सशक्त शक्ति बन्न सक्ने दाबी गरे ।
प्रतिक्रिया