वीरगन्ज :

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफको निधन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
19Views
0 Shares

पाकिस्तानी पूर्वराष्ट्रपति तथा सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

उनी केही समयदेखि बिरामी थिए । पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको बीबीसी उर्दूले जनाएको छ । पूर्वराष्ट्रपतिको परिवारले उनी एमलोइडोसिन नामको रोग झेलिरहेको जनाएको थियो ।

यस रोगमा शरीरको प्रोटिन मोलिक्युल्स निष्क्रिय बन्छन् र बिरामीका अङ्गहरूमा असर पर्छ । परवेज मुशर्रफ स्वास्थ्योपचारका लागि अदालतबाट जमानत पाएयता यूएईमा बसिरहेका थिए ।

पाकिस्तानका हालसम्मका अन्तिम सैन्य शासक मुशर्रफको भाग्य पछिल्ला दुई दशकमा अस्थिर देखिएको थियो । सन् १९९९ मा शक्ति हात पारेयता उनी सयौँ हत्या प्रयासमा बच्न सफल भएका थिए । र उनी पश्चिमा विश्व र इस्लामिक लडाकुहरूबीचको लडाइँमा अग्रपङ्क्तिमा देखिएका थिए ।

तर उनको राजनीतिक दलले सन् २००८ को निर्वाचनमा पराजय भोगेको थियो र उनीमाथि देशको संविधानलाई गैर कानुनी रूपले निलम्बन गरेको एवं सङ्कटकाल लगाएको आरोप लागेको थियो ।

शक्तिमा उदाएको २० वर्षपछि अदालतले उनलाई संविधानको उल्लङ्घन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो । मुशर्रफ अगस्ट ११, १९४३ मा दिल्लीमा एक उर्दू भाषी परिवारमा जन्मिएका थिए ।

सन् १९४७ मा भारतको विभाजन भएपछि उनका अभिभावकहरू पाकिस्तानमा बसाई सरेका थिए । सेनामा लामो समय काम गरेपछि सन् १९९८ मा उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेना प्रमुख नियुक्त गरेका थिए । र त्यसको एक वर्षपछि उनले देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *