श्रेणी : मधेस
वीरगंज (पर्सा), २२ माघ —पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आफ्नो चुनावी अभियानलाई निर्णायक मोडमा पुर्याएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मैदानमा उत्रिएका टेमानीले वीरगंज महानगरपालिका वडा नम्बर १० मा सघन घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका हुन्।
चुनावी प्रचारको औपचारिकता भन्दा बाहिर निस्कँदै टेमानीले स्थानीय टोल–टोलमा पुगेर जनताको दैनिक समस्या, अपेक्षा र असन्तुष्टिलाई नजिकबाट सुने। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवा सुविधाका सवालमा उठेका गुनासालाई गम्भीर रूपमा लिँदै उनले ती विषयहरूलाई संसदमा सशक्त ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलोका क्रममा टेमानीले आफूलाई “नेता होइन, जनताको सेवक”का रूपमा प्रस्तुत गर्दै जवाफदेही र परिणाममुखी राजनीतिको आवश्यकता औंल्याए। विगतमा देखिएका कमजोरी दोहोरिन नदिने र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई निरन्तरता दिने उनको भनाइ थियो।
वडा नम्बर १० का मतदातासँगको छलफलमा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकास योजनाको अभावलाई मुख्य चुनौतीका रूपमा प्रस्तुत गरे। वीरगंजलाई आर्थिक, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न संघीय तहमा मजबुत प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्याउने प्रतिनिधि आजको आवश्यकता हो।”
घरदैलो अभियानका क्रममा टेमानीप्रति स्थानीय मतदाताको उत्साहजनक प्रतिक्रिया देखिएको छ। धेरै नागरिकले उनको सरल स्वभाव, सहज पहुँच र क्षेत्रमै बसेर निरन्तर सक्रिय रहेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। लामो समयदेखि जनस्तरमै घुलमिल हुँदै आएका कारण टेमानीप्रति विश्वास बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ।

जसपा नेपालले पर्सा क्षेत्र नम्बर २ लाई यसपटक रणनीतिक रूपमा महत्वपूर्ण मानेको छ। त्यसैअनुसार टेमानीले घरदैलो, टोलसभा र प्रत्यक्ष संवादलाई अभियानको केन्द्रमा राख्दै प्रचारप्रसारलाई अझ सशक्त बनाइरहेका छन्। आगामी दिनमा अभियानलाई थप व्यापक बनाउने तयारीसमेत रहेको बताइएको छ।
नेतृत्वभन्दा सेवा भावनालाई प्राथमिकता दिँदै निर्वाचनमा होमिएका टेमानी मधेश प्रदेशका सफल उद्योगी तथा व्यवसायीका रूपमा पनि परिचित छन्। विगत दशकौँदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले नीतिगत तहमा पुगेर पर्सा क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन्।
यदि टेमानी निर्वाचित भए विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने मतदाताको विश्वास छ, जसले पर्सा–२ को राजनीतिक समीकरणलाई थप रोचक बनाइरहेको छ।

प्रतिक्रिया