
श्रेणी : प्रदेश
राजविराज,०६ साउन । परीक्षा केन्द्र सारिएको विरोधमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आबद्ध विद्यार्थीहरूले मंगलबार प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले व्यवस्थापन संकायको स्नातक (बीबीएस) तेस्रो र शिक्षा शास्त्र (एमएड) पहिलो वर्षको परीक्षा केन्द्र सारिएको विरोधमा एक साताअघि नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, त्रिभुवन विश्वविद्यालयले कानुन संकायको एलएलबी दोस्रो वर्षको परीक्षा केन्द्रसमेत सारेपछि विद्यार्थीहरू थप आन्दोलित भएका हुन्।
स्ववियु सभापति रञ्जितकुमार यादवका अनुसार, क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले केन्द्र फिर्ता गराउने आश्वासन दिएर काठमाडौँ गएका भए पनि परीक्षा केन्द्र फेरि सिरहाको जेएस मुरारका क्याम्पस, लहान सारिएको जानकारी पाएपछि उनीहरू प्रदर्शनमा उत्रिन बाध्य भएका हुन्।
यसअघि राजविराजमै सञ्चालन हुँदै आएको एलएलबी दोस्रो वर्षको परीक्षा यसपटक लहान सारिएको छ। त्रिवि तालिकाअनुसार बुधबारदेखि परीक्षा सुरु हुँदैछ। तर, विद्यार्थीहरू आन्दोलित रहँदा करिब ३ सय परीक्षार्थी अन्योलमा परेका छन्।


प्रतिक्रिया