
श्रेणी : BANNER
काठमाडौं,३० वैशाख । न्युजिल्यान्ड सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव सार्वजनिक गरेपछि त्यहाँको राजनीतिक र सामाजिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनका अनुसार यो प्रस्ताव अब सरकारको औपचारिक एजेन्डामा समावेश भइसकेको छ। ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार, लक्सनले बालबालिकालाई सामाजिक सञ्जालमा बढ्दो दुव्र्यवहार, हानिकारक सामग्री र मानसिक लतबाट जोगाउन यो निर्णय आवश्यक भएको बताएका छन्।
शिक्षामन्त्री एरिका स्ट्यानफोर्डको नेतृत्वमा यो विधेयक अघि बढाइने छ। उनले भनेअनुसार, प्रस्तावलाई आवश्यक समर्थन प्राप्त भएमा सन् २०२६ को आम निर्वाचनअगावै यो कानूनको रूपमा लागू हुनसक्ने सम्भावना छ।
तीन दलको गठबन्धन सरकार सञ्चालन गरिरहेको नेशनल पार्टीले पहिले नै उमेर हदबन्दीसहितको सदस्य विधेयक संसदमा पेश गरिसकेको छ। प्रस्ताव कार्यान्वयनमा आएमा १६ वर्षमुनिका व्यक्तिहरू फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक लगायतका प्लेटफर्म प्रयोग गर्न नपाउने छन्।
यसअघि अस्ट्रेलियाले पनि यस्तै प्रकृतिको कानून पारित गरिसकेको छ, जसअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रमुख सामाजिक सञ्जालमा खाता खोल्न प्रतिबन्ध लगाइएको छ। बेलायत, युरोपेली संघ, क्यानडा र अमेरिका लगायतका देशहरूमा पनि बालबालिकाको डिजिटल सुरक्षाका लागि यस्ता उपायहरूमाथि गम्भीर छलफल भइरहेको छ।
न्युजिल्यान्डको यो प्रस्तावले बालबालिकाको मानसिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको ठानिए पनि डिजिटल स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रभावबारे पनि छलफल भइरहेका छन्।


प्रतिक्रिया