
श्रेणी : प्रदेश
काठमाडौं,१८ भदौ । नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई अनिवार्य दर्ताका लागि दिएको सात दिनको समयावधि सकिन अब दुई दिन मात्र बाँकी छ, तर अहिलेसम्म कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीले निवेदन पेश गरेका छैनन्।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनअनुसार दर्ता गर्नुपर्ने प्रावधान रहे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। उनले चेतावनी दिँदै भने, “निर्धारित समयभित्र दर्ता नगर्ने कम्पनीहरूमाथि कानुनी कारबाही गरिनेछ।”
यसअघि सरकारले पटक–पटक फेसबुक, युट्युब, टिकटोक, इन्स्टाग्रामलगायत ठूला प्लेटफर्महरूलाई दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको थियो। तर प्रतिक्रिया नआएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र दर्ता अनिवार्य गरिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका सबै सामाजिक सञ्जालहरूको सूची तयार गरिसकेको छ। मन्त्रालयका अनुसार भदौ १९ गतेदेखि दर्ता नगर्ने कम्पनीहरूको सेवा क्रमशः निष्क्रिय गरिँदै जानेछ।
सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न दुई वर्षअघि निर्देशिका ल्याएको थियो, र सर्वोच्च अदालतले समेत सबै प्लेटफर्मलाई नेपालका नियामक निकायमा अनिवार्य दर्ता गर्न आदेश दिएको छ। हालसम्म मात्र ७ वटा सामाजिक सञ्जाल कम्पनीले कानुनअनुसार दर्ता पूरा गरिसकेका छन्।


प्रतिक्रिया