वीरगन्ज :

निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैनःराष्ट्रपति

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।”

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

“तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ ।

नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको भन्दै उनले यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताएका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।”

आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकाङ्क्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गरेका छन् । “हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले सङ्कटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्याउन चाहन्छु”, सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *