काठमाडौँ,२५ माघ । प्रतिनिधि सभा निर्वाचन हुन अब २५ दिन मात्र बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग ‘कसलाई मतदान गर्नुहुन्छ’ भनेर सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
निर्वाचन कार्यालयले यस्तो गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै सबै सम्बन्धित पक्षलाई संयमित रहन ध्यानाकर्षण गराएको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ अनुसार मतदाताको गोपनीयता उल्लङ्घन गर्ने कार्य निषेध गरिएको उल्लेख गर्दै कार्यालयले यस्ता गतिविधि नगर्न र नगराउन अनुरोध गरेको छ।
निर्वाचन कार्यालयका अनुसार आचारसंहिता उल्लङ्घन रोक्न यसअघि नै छलफल, अन्तर्क्रिया तथा सूचना प्रकाशनमार्फत जानकारी गराइसकिएको भए पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरूले तोकिएको व्यवस्था पालन नगरेको पाइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न पाइने स्पष्ट व्यवस्था छ। तर, तोकिएको समय अगावै प्रचारप्रसार, कोणसभा, सामग्री प्रकाशन–प्रसारण तथा मतदाता प्रभावमा पार्ने गतिविधि भइरहेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयले आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
यस विषयमा आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया