
श्रेणी : प्रदेश
काठमाडौं,३० वैशाख । लगातारको वर्षा र कमजोर संरचनाका कारण देशका दुई प्रमुख राजमार्गहरूमा सडक अवरुद्ध हुँदा सयौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्। पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्ड र बीपी राजमार्गको काभ्रेपलाञ्चोक भागमा आवागमन पूर्ण रूपमा रोकिएको छ।
नवलपरासीको कावासोती–दुम्कीवास खण्डअन्तर्गत चोरमारा स्थित फलामे पुल बुधबार राति भासिएपछि पूर्व–पश्चिम यात्रा गर्ने गाडी र यात्रुहरू चोरमारा र अरुणखोलामा रोकिएका छन्। ठूलो ट्रक पार गर्ने क्रममा पुल भासिएको जिल्ला प्रहरीले जनाएको छ। विगतमा पनि दुम्कीवासको अर्को फलामे पुल भाँचिएको थियो, जसले यो क्षेत्रको सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पनि अवरुद्ध भएको छ। रोशी गाउँपालिका–११ र १२ को सिमानामा रहेको माम्ती खोलामा बनेको अस्थायी डाइभर्सन भारी वर्षाका कारण बगाउँदा राजमार्ग ठप्प भएको हो। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, पूर्वबाट आउने सवारी साधनलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंतर्फ गइरहेका गाडीहरूलाई भकुण्डेबेसीमा रोकिएको छ।
नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ लाई जोड्ने बाढीले हिमपाइपसहितको वैकल्पिक बाटो पनि बगाएको छ। अहिले दुबै स्थानमा सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जानकारी दिएको छ।
सडक अबरुद्ध हुँदा यात्रुहरू लामो समयसम्म गन्तव्यमा पुग्न नसकी अलपत्र परिरहेका छन्।


प्रतिक्रिया