वीरगन्ज :

तराई–मधेशमा गर्मी अझै बढ्ने, मनसुन फैलिन अझै केही दिन लाग्ने

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
1.9kViews
1491 Shares

बीरगन्ज,२६ जेठ । तराई–मधेशका बासिन्दाले अझै केही दिन चर्को गर्मी सहनुपर्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि तराई क्षेत्रमा तापक्रम अझै उकालो लाग्नेछ।

धनगढीमा आज तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन यसपटक कोशी प्रदेशमै अड्किएकाले बाँकी देशमा वर्षा नहुँदा तापक्रम लगातार बढिरहेको छ। “१४ गते कोशी प्रदेश हुँदै मनसुन प्रवेश गरे पनि त्यसपछि वर्षा रोकिएकाले गर्मी बढेको हो,” उनले बताए।

यता अर्का मौसमविद् विनोद पोख्रेलले भने बुधबारदेखि केही स्थानमा हल्का वर्षा सुरु हुने र बिहीबारबाट देशभर उल्लेखनीय वर्षा हुने सम्भावना रहेको जानकारी दिए। त्यसपछि तापक्रममा क्रमशः कमी आउने र वर्षा सक्रिय हुने उनले बताए।

हाल देशको पश्चिमी तथा मध्य भू–भागमा स्थानीय वायु र पश्चिमी वायुले प्रभाव पारिरहेका छन् भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।

आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी लगायतका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भागहरूमा एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *