वीरगन्ज :

ठाकुरराम क्याम्पसमा केहीबेर रोकिएको निर्वाचन पुनः सुरु

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.7kViews
1407 Shares

वीरगंज, ५ चैत – वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा केहीबेर रोकिएको स्ववियू निर्वाचन पुनः सुरु भएको छ। निर्वाचन स्थल क्याम्पसको मूल गेटमा युवा नेता सुधीर पटेलले विवाद सिर्जना गरेपछि रोकिएको निर्वाचन पुनः सुरु भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचनमा क्याम्पस प्रशासनकै मिलोमतोमा धाँधली गरिएको तथा नक्कली परिचय पत्र बनाएर फर्जी विद्यार्थीहरूलाई मतदान गराइएको आरोप विभिन्न विद्यार्थी संगठनका नेताहरूले लगाएपछि क्याम्पसको मूल गेटमा केहीबेर तनाव सिर्जना भएको थियो।

८ दलीय गठबन्धनका उम्मेदवार श्यामप्रसाद गुप्ताले क्याम्पस प्रशासन सत्ताधारी पार्टीको दबावमा निर्वाचनमा धाँधली गराउन लागेको आरोप लगाएका थिए। क्याम्पसको मूल गेटमा केही सुरक्षाकर्मी तथा विद्यार्थी नेताहरूबीच ठेलमठेलसमेत भएको थियो। असहमति जनाइरहेका नेताहरूसँग छलफल गरेपछि निर्वाचन प्रक्रिया पुनः सुरु भएको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस परिसरभित्र भइरहेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। वीरगंजको नर्सिङ कलेज र ठाकुरराम क्याम्पसमा भइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको र निर्वाचन क्षेत्र आसपासमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार हालसम्म ठूलो विवाद नभएको, मूल गेटमा भएको हल्का अवरोधलाई तत्कालै साम्य पारिएको र निर्वाचन सहज रूपमा सञ्चालन भइरहेको छ। वीरगंजको नर्सिङ कलेजमा पनि हालसम्म शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

निर्वाचनको अवस्थाबारे बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोली कलेजमा पुगेर निर्वाचन प्रक्रियाबारे जानकारी लिएको छ।

ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि हुन लागेको स्ववियू निर्वाचनमा सभापति पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। क्याम्पसमा आफ्ना प्रतिनिधि चयन गर्न १० हजार ७२९ मतदाता मतदानमा सहभागी भइरहेका छन्।

निर्वाचन बिहान ८ बजेदेखि हुने भनिएको भए पनि २ घण्टा ढिला गरी सुरु भएको थियो। सर्वदलीय सहमति अनुसार मतदान प्रक्रिया सहज बनाउन ५ बजेसम्म विद्यार्थीहरूलाई क्याम्पस परिसरभित्र प्रवेश गराइने र भित्र प्रवेश गरिसकेका विद्यार्थीहरूलाई मतदानमा सहभागी गराउने तयारी गरिएको विद्यार्थी नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *