श्रेणी : मधेस
बारा,२० पुस । जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवाना स्थित एक गलैँचा उद्योगबाट आठ जना बाल श्रमिकको उद्धार गरिएको छ । संयुक्त अनुगमन टोलीद्वारा सुषमा गलैँचा उद्योगमा गरिएको अनुगमनका क्रममा बाल श्रमिकहरूको उद्धार गरिएको हो ।
अनुगमन टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका, श्रम तथा रोजगार कार्यालय वीरगन्ज र बाल हेल्पलाइन मकवानपुरका प्रतिनिधिहरू सहभागी थिए । उद्धार गरिएका बालबालिका १८ वर्षभन्दा मुनिका रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
उद्धार गरिएका बालबालिकामध्ये पाँच जना बारा जिल्लाको निजगढ नगरपालिकाका र तीन जना मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका हुन् । बालबालिकालाई हाल बाल हेल्पलाइन मकवानपुरमा राखिएको छ ।
बाल हेल्पलाइन मकवानपुरले बालबालिकालाई आवश्यक परामर्श तथा पुनर्स्थापना प्रक्रियामा लैजाने योजना बनाएको छ । अधिकृत सुवेदीका अनुसार अभिभावकको जिम्मा लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
श्रम तथा रोजगारको क्षेत्रमा बाल श्रमिकको पहिचान र उद्धारका लागि स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सक्रियता बढिरहेको छ । बाल श्रमिकमुक्त समाज निर्माणका लागि यस प्रकारका अनुगमन र उद्धार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
प्रतिक्रिया