वीरगन्ज :

जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चासँगको सहकार्यमा पुनर्विचार गर्ने

श्रेणी : मधेस

6 hours
Pradeep Sah
2.7kViews
1011 Shares

बीरगन्ज,११ साउन । मधेश केन्द्रित दलहरूको संयुक्त गठबन्धन संघीय लोकतान्त्रिक मोर्चा भित्र गहिरो असहमति चुलिँदै जाँदा, डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मोर्चासँगको सहकार्यबारे पुनर्विचार गर्ने स्पष्ट संकेत दिएको छ। मोर्चाको प्रभावशीलता र उद्देश्यमै प्रश्न उठाउँदै जनमतले तीन मुख्य कारण उल्लेख गरेको छ, जसले वर्तमान संरचनालाई अस्थिर बनाएको देखिन्छ।

जनमतको पहिलो र गम्भीर आपत्ति मोर्चाबाट अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई बहिष्कृत गरिएको विषयमा छ। सात सांसदसहित मधेशको सबैभन्दा ठूलो दललाई मोर्चामा सामेल नगरिएकोप्रति जनमतले आपत्ति जनाउँदै मोर्चाको समावेशी हैसियतमै प्रश्न उठाएको छ। पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले “लोकतान्त्रिक मोर्चा भन्ने नाम भए पनि मधेशकै सबैभन्दा ठूलो दललाई बाहिर राखेर त्यसले कसरी सार्थकता पाउँछ?” भनेर आलोचना गरे।

जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति पनि गहिरो अविश्वास व्यक्त गरेको छ। प्रवक्ता यादवका अनुसार जसपा नेपालले सत्ता गठबन्धनमा जनमतको ठाउँ कब्जा गर्न खोजेको बुझाइ पार्टीको छ। “हामीलाई केन्द्र र मधेश दुवै तहमा बाहिर राख्ने योजनाबद्ध प्रयास भएको देखिएको छ,” उनले बताए। यद्यपि, जसपा नेपालले हालै सत्ता गठबन्धनबाट समर्थन फिर्ता लिएको छ, तर त्यसले जनमतको शंका हटाएको छैन।

मोर्चाभित्रको तेस्रो दरार रुपन्देही–३ को उपनिर्वाचनमा देखिएको छ। मोर्चामा आवद्ध अधिकांश दल नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने तयारीमा छन्, तर जनमत पार्टीले भने सो क्षेत्रमा आफ्नो उम्मेदवार उभ्याउने अडान लिएको छ। “यो मोर्चा चुनावी गठबन्धनका लागि होइन,” भन्दै यादवले स्पष्ट पारे, “हामीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार दिनेछौं।”

जनमत पार्टीले सोमबार बोलाइएको मोर्चाको बैठकमा सहभागी नहुने संकेत दिएपछि मोर्चाको एकता र उद्देश्यमै प्रश्न उठ्न थालेका छन्। गत चैतमा गठन गरिएको यो मोर्चामा जनमतसहित सात मधेश केन्द्रित दल थिए — जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, लोसपा, जनता प्रगतिशील, तराई मधेश लोकतान्त्रिक पार्टी।

तर, पछिल्ला दिनहरूमा देखिएको असहमति र आन्तरिक अविश्वासले मोर्चाको औचित्य र दीर्घकालीन अस्तित्वमाथि नै प्रश्न उठाएको छ। जनमतको पुनर्विचारले मोर्चा भित्रको शक्ति सन्तुलन मात्र होइन, मधेशको समग्र राजनीतिक धारा पनि पुनःचित्रित हुनसक्ने संकेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *