
श्रेणी : मधेस
जनकपुर,१८ वैशाख । जनकपुरको हृदयस्थल रामानन्द चोकमा भएको विनाशकारी बम विस्फोटको आज १३ वर्ष पुगेको छ। २०६९ साल वैशाख १८ गते, बिहान करिब ११ बजे, मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका नागरिकमाथि गरिएको योजनाबद्ध बम आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।
उक्त विस्फोटमा चर्चित कलाकार रंजु झा, झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास र सुरेश उपाध्यायले ज्यान गुमाएका थिए। विस्फोटको दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व राज्यमन्त्री तथा सांसद सञ्जय कुमार साह (टक्ला) सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो। हाल उनीहरू कारागारमा सजाय काटिरहेका छन्।
शहीदको सपना अझै अधुरै
१३ औं स्मृति दिवसको अवसरमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले शहीदहरूको बलिदानीको सम्मान गर्दै वर्तमान राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाए। “मिथिला राज्य, मैथिली भाषा र पहिचानका लागि सहिदले ज्यान दिए। तर सत्ता–शक्ति धारीहरूका षड्यन्त्र र संवेदनशीलताविहीन निर्णयहरूले त्यो सपना अधुरै छ,” उनले भने।
उनका अनुसार प्रदेश २ लाई मधेस प्रदेश नाम दिइए पनि मैथिली भाषालाई कामकाजको भाषा बनाउन र मिथिलाको पहिचानलाई संविधानिक रूपमा स्थापित गर्न गम्भीर प्रयास भएको छैन। “यो आन्दोलन पहिचान, अधिकार र आत्मसम्मानका लागि हो। बंगलादेशपछि संसारकै दोस्रो भाषिक–सांस्कृतिक आन्दोलन हाम्रो हो,” कापडीले बताए।
विस्फोटपछि जीवनपर्यन्त सजाय
बम विस्फोटपछि गरिएको अनुसन्धान र अदालती प्रक्रियामा सञ्जय साहसहित मुकेश चौधरी (अर्जुन सिंह), राजन मुक्ति (रञ्जित झा), सुरेश कर्ण, रिपेन्द्र झा, जयप्रकाश चौधरी र मुकेशकुमार कर्णलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो। तत्कालीन सद्भावना पार्टीबाट सांसद बनेका साहलाई विस्फोट प्रकरणमा मुछिएपछि पार्टीले निलम्बनसमेत गरेको थियो।
आज पनि पीडा र अपेक्षा
१३ वर्ष बितिसक्दा पनि पीडित परिवार र आन्दोलनका नेतृत्वले न्यायको अपेक्षा, पहिचानको संघर्ष र शहीदको सपनाको पुनः स्मरण गर्दै जनकपुरमा दिन मनाएका छन्। उनीहरूका अनुसार, जबसम्म मिथिला राज्य र मैथिली भाषालाई पूर्ण संवैधानिक मान्यता दिइँदैन, तबसम्म आन्दोलन जारी रहनेछ।

प्रतिक्रिया