वीरगन्ज :

जनकपुर चुरोट कारखानासहित चार सरकारी उद्योग बिक्रीको तयारी

श्रेणी : अर्थ

7 hours
Pradeep Sah
1.8kViews
1715 Shares

वीरगन्ज,१६ असार । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना सहित चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गरी बिक्री प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले कन्सल्टेन्ट नियुक्तिका लागि आशय पत्र मागेको छ। यो पहल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख गरिएबमोजिम सार्वजनिक प्रतिष्ठानहरूको व्यवस्थापन गर्ने सरकारको नीतिको पहिलो चरण हो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार, जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्याङ्कनका लागि असार २३ गतेसम्म आशय पत्र पेस गर्ने अन्तिम मिति तोकिएको छ। सोही दिन आशय पत्र खोलिनेछ। यससँगै, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कनका लागि पनि असार २७ गतेसम्म आशय पत्र पेस गर्ने समय दिइएको छ।

गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिसहित सात रुग्ण उद्योगको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। यस निर्णयपश्चात्, अर्थ मन्त्रालयले सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन गरी यी उद्योगहरूको विस्तृत अध्ययन गरिरहेको छ।

उल्लेखित सात उद्योगमध्ये, उदयपुर र हेटौँडा सिमेन्ट उद्योग मात्र सञ्चालनमा छन्। बाँकी गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट र बुटवल धागो कारखाना भने पूर्ण रूपमा बन्द अवस्थामा छन्। अर्थ मन्त्रालयले परामर्शदाता नियुक्त गरेपछि यी बन्द उद्योगहरूको वास्तविक सम्पत्ति मूल्याङ्कन हुनेछ, जसले बिक्री प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। जनकपुर चुरोट कारखाना एक समय देशको प्रमुख उद्योगका रूपमा रहेको थियो, तर विभिन्न कारणले लामो समयदेखि बन्द अवस्थामा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *