जनकपुर,०१ साउन । मधेशको भुईँ सुकेको मात्रै होइन, प्यास पनि चरम अवस्थामा पुगेको छ। जनकपुरदेखि वीरगन्जसम्मका सहर र गाउँहरूमा चापाकलहरू सुकेका छन्, धारामा पानी आउँदैन, खेतहरू बाँझिएका छन्, र मान्छेहरू हातमा बाल्टिन लिएर पानीको खोजीमा भौतारिन थालेका छन्।
जनकपुरधाम–९ सरस्वती टोलका रामनाथ साह आइतबार बिहान बाल्टिन बोकेर छिमेकीकहाँ पानी माग्दै दौडिरहेका थिए। चापाकलले साथ छाडिसकेको धेरै भइसक्यो, अहिले पाइप लाइनले पनि धोका दिएको उनको गुनासो थियो। बिजुली पनि झ्याप–झ्याप, पानी तानेको मोटर नै चलेन। उनीजस्ता सयौं घरका मान्छेहरूमा बिहानैदेखि तनाव छ।
थापा चोकका अशोक ठाकुरको घरमा धाराबाट पानी नआएपछि उनी जारको भरमा टाढा–टाढासम्म धाउने बाध्यता छन्। तर बजारमै जार अभाव देखिएको छ। हरेक घरमा पानीको हाहाकारले जनकपुरवासीलाई दुई दिनमै थलाएको छ।
पछिल्लो दशकयता जनकपुरमा ६० देखि ४५० फिट गहिराइसम्म गाडिएका चापाकलहरू पनि सुक्ने गरेका छन्। यो वर्षको खडेरी र कम वर्षाले अवस्था झनै भयावह बनेको छ।
मधेश प्रदेश सरकारले वारुणयन्त्र (दमकल) प्रयोग गरेर बस्ती–बस्तीमा पिउने पानी पुर्याउने अभियान सुरु गरेको छ। मुख्यमन्त्री सतीशकुमार सिंहको निर्देशनमा ८ वटा दमकल, नेपाली सेनाका ७ ट्यांकर र वन कार्यालयका ३ गाडीमार्फत पानी वितरण भइरहेको छ।
मुख्यमन्त्री सिंह भन्छन्, “पानीको संकट त निकै गम्भीर छ, त्यसैले दमकल नै पानी बाँड्न पठाएका हौं।” उनका अनुसार दमकलहरू २४ घण्टा बिनाबिराम पानी बाँडिरहेका छन्।
पानीका लागि यज्ञ: गहवामाई मन्दिरमा वरुण पूजा
वीरगन्जस्थित गहवामाई मन्दिरमा त पानी पाउन यज्ञ नै सुरु भयो। समितिका अध्यक्ष नरेन्द्र साह र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यसहित पूजामा सामेल भए। बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पर्जन्य यज्ञ (वर्षा यज्ञ) गरिएको हो।
हजारौँ गुनासो, लाइन जोड्न धाउँदा
वीरगन्ज खानेपानी संस्थानमा नयाँ धारा जडान गर्न सर्वसाधारणको भीड बाक्लिएको छ। प्रमुख प्रवीनकुमार साहका अनुसार १२ दिनमा ४ सयभन्दा बढी नयाँ लाइन जडान गरिएको छ। उनले भने, “२० दिनमै ३ हजार फोन र म्यासेज आएको छ, कर्मचारी कम हुँदा काम गर्न गाह्रो भएको छ।”
विद्युत् छैन, पम्पसेटको बिक्री बढ्यो
बिजुलीको अनियमित आपूर्ति र भोल्टेज घटबढले पानी तान्न नसक्दा बजारमा पम्पसेट र ट्युबवेल गाड्ने पाइपको माग ह्वात्तै बढेको छ। घर–घरमा चापाकल सुकेको छ, धारा छैन, अनि बाँकी विकल्प यान्त्रिक बनेको छ।
खेत सुक्खा, ब्याडमै बीउ डढ्यो
बाराको सिम्रौनगढ–८ मा धानको बीउ ब्याडमै सुक्न थालेको छ। नकछेद यादव भन्छन्, “पिउने पानी छैन, खेत सुक्खा छ। यस्तो अवस्थामा बाँच्ने उपाय के?”
डिप ट्युबवेलको पानी घट्दै गएपछि एकै ठाउँको पानी पिउन र सिँचाइमा साझा रूपमा प्रयोग भइरहेको छ। कतिपय ठाउँमा लाम लागेर पानी भर्ने दृश्य सामान्य भएको छ।
दीर्घकालीन समाधान: चुरे संरक्षण
प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह भन्छन्, “वृक्षारोपण, सिमसार संरक्षण र चुरे क्षेत्रको दोहन रोक्न नसके यो समस्या हर वर्ष झन गहिरिँदै जान्छ।”
चुरे क्षेत्रको अनियन्त्रित बालुवा–गिट्टी उत्खनन, जंगल विनाश र पैनी अतिक्रमणले पानीको मुहानै सुक्दै गएको छ।

प्रतिक्रिया