वीरगन्ज :

कैलाली भन्सार प्रमुखमाथिको कुटपिटको विरोधमा भन्सार सेवा ठप्प

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.4kViews
1170 Shares

काठमाडौं,१२ जेठ । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि भएको कुटपिट घटनाको विरोधमा देशभरका भन्सार कर्मचारी र एजेन्टहरू आन्दोलित भएका छन्।

भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म देशभरका भन्सार कार्यालयहरूमा काम ठप्प पारिएको छ। ‘पेन डाउन’ कार्यक्रमअन्तर्गत कर्मचारीहरूले कालोपट्टी बाँधेर आंशिक विरोध प्रकट गरेका छन् भने सो अवधिमा कुनै पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइएको छैन।

भन्सार एजेन्ट महासंघका अध्यक्ष प्रविन कुमार वैद्यका अनुसार, “कानुनको पालना गराउने जिम्मेवारीमा रहेका एक प्रमुख अधिकारीमाथि नै शारीरिक आक्रमण हुनु गम्भीर विषय हो। दोषीहरूलाई तत्काल कारबाही गरिनुपर्छ।”

महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले भने, “यो पहिलो चरणको शान्तिपूर्ण विरोध हो। यदि माग सम्बोधन भएन भने हामी अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं।”

शनिबार राति कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले तिम्सिनामाथि कुटपिट गरेको भन्दै सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटनाले राष्ट्रिय चर्चा पाएको हो।

भन्सार क्षेत्रमा कार्यरत कर्मचारी र एजेन्टहरूले सरकारी कर्मचारीमाथिको यस्तो व्यवहारले शान्ति सुरक्षामाथि प्रश्न उठाएको भन्दै दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *