
श्रेणी : BANNER
बीरगन्ज,१९ वैशाख । भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विद्यार्थीको मृत्यु भएपछि विरोध चर्किएको छ। भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) ले घटनालाई गम्भीर भन्दै विश्वविद्यालयमाथि कडा कारबाहीको माग गरेको छ।
एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले बिहीबार एक विज्ञप्ति जारी गर्दै घटनालाई “अत्यन्त पीडादायी, घिनलाग्दो र लज्जास्पद” भनेका छन्। उनले यसप्रकारको घटना बारम्बार दोहोरिनु र राज्य सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै केआईआईटीमाथि तत्काल कठोर कदम चाल्नुपर्ने बताएका छन्।
सर्लाहीको मलंगवा स्थायी घर भई बीरगन्ज–१५ निवासी १९ वर्षीया प्रिसा साह केआईआईटीमा बीटेक (CSE) पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी बिहीबार साँझ ८ बजे कलेजको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
यो घटनाले अघिल्लो घटनाको स्मरण गराएको छ। यसअघि गत फागुन ४ गते, केआईआईटीमै अध्ययनरत प्रकृति लम्साल पनि होस्टलमै मृत फेला परेकी थिइन्। ती घटनापछि नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए, तर विश्वविद्यालय प्रशासनले जवाफदेहीता लिन ढिलाइ गरेको भन्दै आलोचना हुँदै आएको छ।
एबीभीपीले अब राज्य सरकार र विश्वविद्यालय प्रशासन दुवैलाई जवाफदेही बनाउन दबाब दिने चेतावनी दिएको छ।


प्रतिक्रिया