
श्रेणी : BANNER


वीरगंज (पर्सा), ३० फागुन / सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले जनाएका छन् । उपराष्ट्रपति उम्मेदवार यादव आफ्नो लागि मत माग्न सोमबार बालुवाटार पुगेका बेला प्रधानमन्त्री प्रचण्डले यादवसंग सो प्रतिवद्धता जनाएको जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतीनीधी सभा सदस्य प्रदीप यादवले बताए ।
यादवले भने, प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनु भएको छ ।’
यसैगरी सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार बनेका रामसहाय प्रसाद यादवले विभिन्न राजनितिक दलका नेताहरूसँग मत माग्ने क्रम जारी छ । जनता समाजवादी पार्टीका यादवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि भेटेका छन् । भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएको सांसद प्रदीप यादवले जानककारी दिए ।
यसअघि सांसद यादवको उम्मेदवारी दिने बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनु नै आफुले सम्पुर्णको साथ र समर्थन पाउने विश्वास लिएको उम्मेदवार यादवको भनाई छ । निर्वाचन आयोगका अनुसार आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।
यस्तै आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर यसअघि नै अन्तिम नामावली प्रकाशन गरीसकेको छ ।
जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने जसपाबाट २ जनाको उम्मेदवारी परेपनि पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव नै भएको प्रष्ट पारेका छन् । आठ दलीय गठबन्धनको समर्थन रहेको अर्थात सत्तागठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार बनेका राम सहाय यादव प्रदेश तथा प्रतीनीधी सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतीनीधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।
गठबन्धनसँग बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको सासंद प्रदीप यादवले बताएका छन् । त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुनेछ । साभार वीरगंज टाईम्स


प्रतिक्रिया