
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,१२ वैशाख । भारतको रक्सौल बेतिया क्षेत्रबाट उद्धार गरिएका १८ वर्षमुनिका नौ जना नेपाली बालकलाई प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामले बिहीबार आफ्ना परिवारको जिम्मा लगाएको छ।
राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत सञ्चालित उक्त केन्द्रले भारतमा मानव तस्करीको शिकार बनेका बालकहरूलाई नेपाली प्रहरी र भारतीय पक्षसँगको समन्वयमा उद्धार गरी परिवारमा फर्काएको हो।
फेसबुकमार्फत जागिरको प्रलोभन
केन्द्रका प्रमुख सञ्जीवकुमार महतोका अनुसार बालकहरूलाई एक अज्ञात गिरोहले फेसबुकमार्फत नेटवर्किङ मार्केटिङमा आकर्षक जागिर दिने प्रलोभन देखाई भारत बोलाएको थियो। त्यहाँ उनीहरूलाई बन्धक बनाइएको थियो।
उद्धार गरिएकामध्ये आठ जना बालक बन्धक बनाइएको अवस्थामा भेटिएका थिए भने एक जना भारतमै हराइरहेका थिए। सबैलाई आवश्यक कानुनी प्रक्रिया पुर्याई परिवारको जिम्मा लगाइएको महतोले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैैठाका १४ वर्षीय बालक अताबुल राइन, महोत्तरी जिल्लाको पररिया थान कान्ति बजारका १६ वर्षीय अमरेश कुमार, धनुषाको मिथिला बिहारी नगरपालिका–२ का १६ वर्षीय मुस्तुफा राई, धनुषाका धनुषाधाम नगरपालिका–२ का १७ वर्षीय लक्ष्मणकुमार मण्डललाई जिम्मा लगाइएको हो । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ का १४ वर्षीय रविकिसन महरा, सिराहाको नरहा गाउँपालिका–१ का १६ वर्षीय प्रवीणकुमार दास, धनुषाको धनौजी गाँउपालिका–५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रपैठाका १७ वर्षीय बालक मोहमद दिलसाद शेख र भारतमा हराएका रौतहटका १४ वर्षीय पुजन माझीलाई परिवारको जिम्मा लगाइएको छ ।
भारतीय बालकल्याण समितिको समन्वयमा ‘किन इन्डिया’ नामक संस्थाले नेपालका बालकहरूलाई उद्धार गरी नेपाली पक्षलाई बुझाएको थियो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार २९ मार्चमा भारतीय प्रहरीले रक्सौलको एक घरमा छापा मारेर ७७ जना नाबालकलाई उद्धार गरेको थियो, जसमा नेपालका आठ जना पनि परेका थिए।
जोशीका अनुसार ‘किन इन्डिया’ मानव बेचबिखन र तस्करी नियन्त्रणमा काम गर्ने संस्था हो र यसको मुख्य कार्यालय दिल्लीमा रहेको छ।


प्रतिक्रिया