वीरगन्ज :

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण, चैती छठ विधिवत् सम्पन्न

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.8kViews
1216 Shares

बीरगज,११ चैत । श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म कठोर नियम, संयम र श्रद्धासाथ मनाइने यस पर्वको अन्तिम दिन तराई–मधेससहित देशका विभिन्न स्थानमा उल्लासपूर्ण वातावरण देखिएको थियो।

मंगलबार साँझ अस्ताउँदो सूर्यलाई ‘सन्ध्या अर्घ्य’ दिएका व्रतालुहरूले आज बिहान सूर्योदयसँगै जलाशयमा उभिएर ‘भोरको अर्घ्य’ अर्पण गरेका हुन्। बीरगन्जका घडिअर्वा पोखरी, मूर्ली पोखरी, नगवा पोखरी, रानीघाट लगायतका स्थानमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको थियो। यी क्षेत्रहरूलाई विशेष सजावट गरिएकाले शहरको वातावरण भक्तिमय र उत्सवमय बनेको थियो।

छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’बाट सुरु भएको व्रत दोस्रो दिन ‘खरना’ हुँदै तेस्रो दिन निराहार उपवाससहित सम्पन्न गरिएको थियो।

व्रतालुहरूले ठकुवा, भुसुवा, मुला, उखु, केरा, नरिवल लगायतका सामग्री प्रसादका रूपमा अर्पण गर्दै छठी माताको पूजा गरेका थिए। रातभर जाग्राम बसेपछि आज बिहान अर्घ्य दिएर व्रत समापन गरिएको हो।

धार्मिक विश्वास अनुसार छठ पर्वले मनोकाङ्क्षा पूरा हुने र विशेषगरी छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास छ। कात्तिक छठको तुलनामा चैती छठ मनाउने संख्या कम भए पनि पछिल्ला वर्षहरूमा यसको आकर्षण र सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *