सुर्खेत,०८ चैत । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको हत्या प्रकरणमा अनुसन्धान अझै टुंगोमा नपुग्दा घटनाको वास्तविकता खुल्न सकेको छैन। घटनापछि दुई साता बितिसक्दा पनि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा नै राखिएको छ।
परिवार र आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै न्यायको माग गरिरहेका छन्। तर प्रहरीले भने वैज्ञानिक परीक्षणको रिपोर्ट नआएसम्म निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनासँग सम्बन्धित प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका रिपोर्ट आएपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुने उनले बताए।
प्रहरीले मृतक र अभियुक्तको मोबाइल जाँच, भजाइनल स्वाब परीक्षण तथा अन्य प्रमाणहरू संकलन गरिरहेको छ। घटनामा पक्राउ परेका एक नाबालकसहित चार जनाले भने आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका छन्।
अभियुक्तमध्ये एकले इनिशासँग प्रेम सम्बन्ध रहेको र सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ। उनका अनुसार रक्तस्राव भएपछि इनिशा बेहोस भएकी र त्यसपछि सहयोगका लागि अन्य साथीहरू बोलाइएको थियो।
सिसिटिभी फुटेजमा बिहान ६ बजेतिर इनिशा र एक किशोर मात्रै सँगै गएको देखिएको बताइएको छ। उनीहरूको बयान सत्य वा झूटो पत्ता लगाउन पोलिग्राफ परीक्षणको तयारी गरिएको छ।
घटनाको गम्भीरताका कारण केन्द्रीय अनुसन्धान ब्यूरो को टोली समेत वीरेन्द्रनगर पुगेर थप अनुसन्धानमा जुटेको छ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ। यद्यपि, बलात्कार र हत्यासम्बन्धी तथ्यहरू पुष्टि गर्न थप वैज्ञानिक परीक्षण आवश्यक रहेको बताइएको छ।
फागुन २३ गते सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी इनिशा वीरेन्द्रनगरमा अध्ययनरत थिइन्। परिवारले घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै दबाब बढाइरहेका छन्।

प्रतिक्रिया