
श्रेणी : प्रदेश
काठमाडौँ,३१ असार । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट आएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नेछन्।
आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
आजै राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया