
श्रेणी : मधेस
जनकपुर,२३ असार । तिलाठी कोइलाडी–मंसापुर सडक खण्डको निर्माण पूरा गर्न माग गर्दै स्थानीयले सप्तरीको भारदहमा आज बिहानैदेखि चक्काजाम गरेका छन्।
राजविराज सदरमुकामसँग जोडिने झन्डै १८ किलोमिटर सडक निर्माणमा ठेकेदारको लापरबाहीले चार वर्षदेखि सडक अलपत्र परेपछि स्थानीय आक्रोशित भएका हुन्। सडक खाल्डाखुल्डी र धुलोका कारण दैनिक आवतजावतमा सास्ती भोग्नुपरेपछि पटक–पटक चक्काजाम गर्दा पनि सुनुवाइ नभएपछि पुनः चक्काजाम गर्न बाध्य भएको स्थानीयले बताएका छन्।
“स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत ठेकेदार र सरोकारवाला निकायले आँखा चिम्लिरहेका छन्, पटकपटकको आश्वासन मात्रै सुनियो, समाधान भएन,” स्थानीय नेता राहुल मण्डलले बताउनुभयो।
साह इन्जिनियरिङ कन्स्ट्रक्सनले २५ करोड ७१ लाख रुपैयाँमा ठेक्का लिई चार वर्षअघि सडक निर्माण सुरु गरे पनि बीचमै अलपत्र पारिदिएपछि सडक जीर्ण हुँदै गएको छ। वर्षामा हिलो र अन्य समयमा धुलोका कारण दैनिक यात्रुहरू दुर्घटनाको जोखिममा छन्।
“ठेक्का लिएर भुक्तानी उठायो तर सडकलाई यसरी अलपत्र पारेर छाडियो,” तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो। सडक डिभिजन कार्यालय लहानबाट साह इन्जिनियरिङले ठेक्का पाएको चार वर्ष भइसक्दा पनि काम पूरा नहुँदा सवारी साधन र स्थानीयलाई थप सास्ती भएको छ।


प्रतिक्रिया