वीरगन्ज :

कारागारबाट फरार बम्जन ९ महिनापछि प्रहरीको फन्दामा

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.9kViews
1373 Shares

काठमाडौं,१८ जेठ । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले करिब नौ महिनापछि पुनः पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–३ घर भएका ४५ वर्षीय मानबहादुर बम्जन भक्तपुरको सूर्यविनायक–६, सुन्दरबस्तीबाट पक्राउ परेका हुन्। उनलाई विशेष प्रहरी टोलीले जेठ १४ गते दिउँसो नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार पक्राउपछि बम्जनलाई बाँकी कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको छ।

बम्जनलाई आफ्नै दाजु चेतबहादुर बम्जनको हत्या गरेको अभियोगमा सिन्धुली जिल्ला अदालतले २०८० असोज १७ गते जन्मकैदको सजाय सुनाएको थियो। उनले २०७७ माघ २२ गते सिन्धुलीको मरिण गाउँपालिका–३ स्थित घरमा दाजुमाथि बन्चरो र खुकुरी प्रहार गरी हत्या गरेको अभियोग पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको थियो।

फैसलापछि केन्द्रीय कारागारमा राखिएका बम्जन त्यहाँबाट फरार भएका थिए। प्रहरीका अनुसार उनले कारागारभित्रको अशान्त परिस्थितिको मौका उठाएर भागेका थिए। फरार भएपछि हुलिया परिवर्तन गरी भक्तपुर क्षेत्रमा लुकेर बस्दै आएका उनलाई अनुसन्धान टोलीले खोजी गरी पक्राउ गरेको हो।

प्रहरीले फरार अभियुक्तलाई पुनः नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अनुसार कारागार चलान गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *