
श्रेणी : BANNER
बीरगन्ज,२१ वैशाख । पछिल्लो समय नेपालमा हरित यातायातप्रति आकर्षण बढेसँगै विद्युतीय सवारीसाधन (EV) को माग उल्लेख्यरूपमा वृद्धि भएको छ। तर, चीनबाट आयात गरिएका केही EV सवारीहरूले उपभोक्तालाई निराश तुल्याइरहेका छन्। विशेषतः CG Motors मार्फत नेपाल भित्र्याइएका KYC ब्रान्डका EV भ्यानहरू प्रयोगमा आएदेखि नै गम्भीर समस्या देखिन थालेका छन्, जसले उपभोक्तामात्र होइन, वित्तीय संस्था तथा बैंकहरूको लगानीसमेत संकटमा पारेको छ।
बिरगन्जको मिनोल्टा इन्भेष्टमेन्टको दाबी र वास्तविकता
बिरगन्जस्थित मिनोल्टा इन्भेष्टमेन्ट प्रा. लि. (Minolta Investment Pvt.) मार्फत वितरण गरिएका KYC EV गाडीबारे ग्राहकहरू अत्यन्त असन्तुष्ट छन्। कम्पनीले आफ्ना EV सवारीले एकपटकको चार्जमा ३०० किमिको रेन्ज दिने दाबी गरे पनि वास्तविक प्रयोगमा उक्त दूरीको आधा मात्र पनि प्राप्त नहुने गुनासो व्यापक छ।
उपभोक्ताहरूका अनुसार समथर क्षेत्रमा अधिकतम २०० किमी र पहाडी क्षेत्रमा केवल ११०–१५० किमि मात्र माइलेज दिने अनुभव उनीहरूले गरेका छन्। साथै, बारम्बार चार्ज गर्नुपर्ने झन्झटले गर्दा व्यावसायिक प्रयोजनमा यो गाडी प्रयोग गर्न असहज हुने उनीहरूको भनाइ छ।
‘आफैँ फाइनान्स गराइदिन्छौं’ भन्दै पछि धितो माग्ने व्यवहार
कम्पनीले सुरुमा “आफैँ फाइनान्स गराइदिने” भन्दै ग्राहकलाई आकर्षित गरे पनि, टोकन मनी लिएपछि गाडी खरिद गर्दा जग्गा धितो राख्न बाध्य बनाउने व्यवहारले ग्राहकमा झनै असन्तोष थपिएको छ। यस किसिमको व्यवहारले कम्पनीको पारदर्शिता र नैतिकतामाथि प्रश्न उठाएको छ।
ब्याट्रीको समस्यामा दाबी, नमान्दा ग्राहकले गरे घेराउ
स्राेतका अनुसार गाडी नं मधेश प्रदेश ०४४६ को ब्याट्रीमा गम्भीर समस्या आउँदा पनि कम्पनीले वारेन्टी अन्तर्गत दाबी अस्वीकार गर्ने गरेको आरोप छ। यस्ता घटनाबाट आक्रोशित बनेका उपभोक्ताहरूले मिनोल्टा इन्भेष्टमेन्टको कार्यालय घेराउ गरेको थियो। त्यसपछि मात्र कम्पनी ब्याट्री परिवर्तन गर्न बाध्य भएको थियाे।
३ सय किमिको दाबी, तर १५० किमिमा सिमित
बीरगन्जकाे मिनाेल्टा इन्भेष्टमेन्ट प्रा. लि ( Minolta Investment Pvt KYC ) कम्पनीले आफ्ना EV सवारीले एकपटकको चार्जमा ३०० किमी रेन्ज दिन्छ भन्ने दाबी गरे पनि वास्तविक प्रयोगमा उक्त दूरीको आधा मात्र पनि प्राप्त नहुने उपभोक्ताको गुनासो छ। समथर क्षेत्रमा अधिकतम २०० किमी र पहाडी क्षेत्रमा ११०–१५० किमीको मात्र माइलेज देखिएको प्रयोगकर्ताहरूको अनुभव छ। दैनिक चार्ज गर्नुपर्ने झन्झट र दूरीको सीमितताले व्यावसायिक प्रयोजनमा यो प्रयोग गर्न कठिन भएको उनीहरूको भनाइ छ।
संरचना कमजोर, १ वर्षमै पात फुट्ने
यी सवारीहरू ०.५ एमएमको पातलो माइल्ड स्टिलबाट बनेका छन् जसले टिकाउपनमा प्रश्न उठाएको छ। विशेषगरी सीट जडान हुने भागहरूमा पातलो पात प्रयोग गरिएको हुँदा एक वर्ष नबित्दै प्वाल पर्ने, चेसिस कमजोर हुने, र गाडीमा खिया लाग्ने समस्या देखिएको छ। यसले सवारीको समग्र आयु र सुरक्षामा गम्भीर प्रभाव पारेको छ।
स्पेयर पार्ट्स अभाव र सर्भिसिङ समस्या
स्पेयर पार्ट्सको सहज उपलब्धता नरहेको, अधिकृत सर्भिस सेन्टरको अभाव, तथा वारन्तीको भरपर्दो कार्यान्वयन नभएको उपभोक्ताको गुनासो छ। यसले गर्दा गाडी बिग्रिएपछि लामो समयसम्म प्रयोग गर्न असहज हुने स्थिति आएको छ।
ऋणमा खरिद, आम्दानीमा गिरावट, बैंकको लगानी डुब्ने खतरा
नेपालमा सवारी व्यवसायीहरूले EV सवारीहरू प्रायः बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमार्फत खरिद गरेका छन्। तर, गाडीले अपेक्षित आम्दानी दिन नसक्दा धेरै साना लगानीकर्ताहरू ऋण तिर्न असमर्थ बन्दै गएका छन्। नियमित आम्दानी नभएपछि केही गाडी मालिकहरू किस्ता तिर्न नसकी बैंकको कालोसूचीमा पर्ने अवस्थामा पुगेका छन्।
वित्तीय क्षेत्रका विश्लेषकहरूका अनुसार यदि EV सवारीमा देखिएको समस्या समाधान हुन सकेन भने, बैंक तथा वित्तीय संस्थाले दिएको करोडौं रुपैयाँ बराबरको कर्जा डुब्ने जोखिम समेत देखिएको छ। यसले नाफा कमाउने अपेक्षा गरेको बैंक क्षेत्र आफैं संकटमा पर्ने सम्भावना बढाएको छ।
नेपालमा EV आयातको आँकडा
नेपालमा पछिल्लो ३ वर्षमा EV को आयातमा तीव्र वृद्धि भएको देखिन्छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा मात्रै ११,७०१ वटा चारपाङ्ग्रे EV नेपाल आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब १८८% ले वृद्धि हो।
विगत तीन वर्षको विवरण:
आर्थिक वर्ष आयात भएका EV (चारपाङ्ग्रे)
२०७८/७९ १,८०७
२०७९/८० ४,०५०
२०८०/८१ ११,७०१
विशेषज्ञको चेतावनी: सस्तोमा फस्नु होइन, गुणस्तर हेरेर लगानी गर्नू
सस्तो मूल्य र आकर्षक रेन्जको प्रलोभनमा परी गुणस्तर नहेरी सवारी खरिद गर्नु घातक हुने विशेषज्ञहरू बताउँछन्। EV खरिद गर्नुअघि सवारीको संरचना, ब्याट्री क्षमताको प्रामाणिकता, सर्भिसिङ प्रणाली, स्पेयर पार्ट्सको उपलब्धता र दीर्घकालीन सञ्चालन लागतबारे अध्ययन गरेर मात्र लगानी गर्नु उचित हुने उनीहरूको चेतावनी छ।


प्रतिक्रिया