वीरगन्ज :

मधेशमा ३०० डिप बोरिङ खनिए पनि प्रभावकारिता शुन्य, ५० ट्रान्सफर्मर चोरी

श्रेणी : BANNER

12 hours
Pradeep Sah
1.9kViews
1069 Shares

जनकपुर,१२ साउन । विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा खानेपानी र सिँचाइ समस्या ज्यूँका त्यूँ रहेका छन्। चैत महिनादेखि ३०० वटा डिप बोरिङ खने पनि ती प्रायः प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन्।

अन्तरमन्त्रालयीय अध्ययन कार्यदलले सरकारका मुख्यसचिव एकनारायण अर्याललाई आइतबार बुझाएको प्रारम्भिक रिपोर्टमा बोरिङहरूको गुणस्तर र टिकाउपनमा गम्भीर समस्या देखिएको छ। अधिकांश बोरिङ सामुदायिक उपभोक्ता समितिमार्फत गरिएपछि स्थायित्व र गुणस्तरहीनताको असर परेको छ।

त्यसैगरी, ५० वटा ट्रान्सफर्मर चोरी भएको र कतिपय स्थानमा भोल्टेज स्थिर नभएकाले बोरिङहरू पूर्ण रूपमा प्रयोगमा नआउने समस्या थपिएको छ। मुख्यसचिव अर्यालले चोरी भएका ट्रान्सफर्मर विद्युत् प्राधिकरणसँग समन्वय गरी चाँडै पुनः जडान गरिने बताए।

समस्या समाधानका लागि गण्डक नहरको सरसफाइ, बिग्रिएका २५२ डिप ट्युबेलहरूको मर्मत र नयाँ डिप ट्युबेल खनेर तत्काल राहत दिने योजना तयार भइरहेको छ। साथै भूमिगत जलस्तर पुनःभरपर्दो बनाउन र तराई मधेशमा पोखरीमार्फत सिँचाइ प्रणाली विकास गर्ने प्राविधिक सुझावहरू प्राप्त भएका छन्।

मुख्यसचिव अर्यालले सबै मन्त्रालयका सचिवहरूसँग छलफल गरी एकीकृत प्रतिवेदनको आधारमा कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाएका छन्। यो अध्ययनले मधेशको जलस्रोत संकट गम्भीर भएकाले प्रभावकारी र दिगो समाधान तत्काल आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *