वीरगन्ज :

कागजमा ६० हजार टन मल, खेतमा किसानको हाहाकार

श्रेणी : BANNER

1 day
Pradeep Sah
2.4kViews
1529 Shares

काठमाडौं,१६ असार । सरकारका तथ्यांकअनुसार देशभरका गोदाममा करिब ६० हजार टन रासायनिक मल मौज्दात छ। तर खेतबारीमा काम गरिरहेका किसान भने मलकै अभावमा धान रोप्न सकिरहेका छैनन्।

कृषि मन्त्रालयका अनुसार साल्ट ट्रेडिङसँग ११ हजार ५८३ टन र कृषि सामग्री कम्पनीसँग ४९ हजार १ सय २९ टन मल मौज्दात छ। यी आँकडाले देशमा मलको समस्या नदेखिए पनि व्यवहारमा स्थिति उल्टो छ।

अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसाल भन्छिन्,”धान रोपाइँ सुरु भइसक्दा पनि किसानले ८–१० किलो मात्र मल पाएका छन्। बर्दिया, मकवानपुर, चितवन, नुवाकोटलगायतका जिल्लामा अभावकै गुनासो छ।”

सरकारी मल आपूर्ति ढिला हुँदा बिचौलियाले एक बोरा युरिया २ हजार ५ सय रुपैयाँसम्ममा बेच्न थालेको किसानको गुनासो छ। सरकारी मूल्य अनुसार युरिया ७५०, डिएपी २,२०० र पोटास १,६०० रुपैयाँमा पर्नुपर्ने हो।

कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ भन्छन्,”एक परिवारलाई बढीमा १५ किलो मल दिइएको छ। यसरी मल नपाए धानबाली नै बिग्रनेछ।”

अनुदानको मल वितरण सहकारीमार्फत गरिने भए पनि कोटा निर्धारण, ढुवानी र वितरण प्रक्रियामा ढिलाइका कारण किसानले समयमा मल पाएका छैनन्।

चालु आर्थिक वर्षमा सरकारले ५ लाख ५० हजार टन मल खरिद गर्ने लक्ष्य राखेको थियो। २७ अर्ब ९५ करोड बजेट विनियोजन भएको भए पनि १२ असारसम्म जम्मा ३ लाख ६३ हजार टन मात्र आयात भएको छ।

साल्ट ट्रेडिङका सह–महाप्रबन्धक कुमार राजभण्डारी भन्छन्,”केही मौज्दात छ, बाँकी मल आउने क्रममा छ। अभाव नहुनेछ।”कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिए,”कोलकत्ताबाट मल आउँदैछ। भोलिदेखि नै वितरण सुरु गर्छौं, हाहाकार हुन दिँदैनौं।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *