वीरगन्ज :

विदेश पढ्न जान कक्षा १२ पास मात्रै भएर एनओसी नदिने व्यवस्था ल्याउने तयारी : शिक्षामन्त्री पन्त

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.0kViews
1725 Shares

काठमाडाैं,३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अब कक्षा १२ पास गरेलगत्तै विद्यार्थीलाई देश बाहिर पढ्न जान दिइने प्रवृत्तिमा रोक लगाउनुपर्ने बताएका छन्। शनिबार आयोजित ‘सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा उनले यस्तो नीति आवश्यक भएको धारणा राखे।

मन्त्री पन्तका अनुसार प्लस टु सकेका मात्र विद्यार्थीलाई एनओसी (No Objection Certificate) दिँदा देशको मानव संसाधन र आर्थिक अवस्था दुवैमा नकारात्मक असर परेको छ। “उमेरले परिपक्व नपुगेका किशोरकिशोरीहरू विदेश जाँदा उनीहरूको भविष्य मात्र होइन, देशको पनि सम्भावना जोखिममा पर्छ,” मन्त्री पन्तले भने।

उनका अनुसार कतिपय कन्सल्टेन्सीहरूले लाखौँ रुपैयाँ असुली युवाहरूलाई प्रलोभनमा पारी गुणस्तरहीन विश्वविद्यालयमा पठाइरहेका छन्। “कोरियामा पुग्नेबित्तिकै यति लाखको जागिर पाउने भन्नेसम्मका भ्रम बेचिन्छ,” उनले थपे।

मन्त्री पन्तले स्पष्ट रूपमा भने, “अब समय आइसकेको छ — प्लस टु मात्र गरेर एनओसी दिने चलन अन्त्य गर्नुपर्छ। डिप्लोमा उत्तीर्ण गरेपछि मात्र विदेश जाने बाटो खुला गरौँ।” उनले अत्यन्तै क्षमतावान र छात्रवृत्तिबाट जाने विद्यार्थीको हकमा भने लचकता अपनाउन सकिने बताए।

उनले थपे, “सबै राजनीतिक दलहरू मिलेर बोल्ड निर्णय गर्नुपर्छ। एक जना मन्त्रीले मात्र यस्तो गम्भीर विषय समाधान गर्न सक्दैन। यो राष्ट्रकै भविष्यको कुरा हो।”

विदेश जाने क्रममा वैध र अवैध दुबै माध्यमबाट ठूलो परिमाणमा रकम बाहिरिएको पनि मन्त्री पन्तले उल्लेख गरे। “बैंकमार्फत गएकै रकम एक खर्ब नाघिसक्यो होला, तर अवैध रूपमा गएकाको हिसाब गर्दा त्यो दुई खर्ब पुग्न सक्छ,” उनले चिन्ता व्यक्त गरे।

पन्तले शिक्षा मन्त्रालय मात्र होइन, राष्ट्र नै जागरूक हुनुपर्ने बताए। “विद्यार्थी पलायन रोकिनुपर्छ। यसले देशलाई खोक्रो बनाइरहेको छ। म स्वयं राती निदाउन सक्दिन, कहिलेसम्म हामीले यति धेरै युवा शक्ति गुमाइरहने?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *