बर्दिया,२१ वैशाख । आहाराको खोजीमा चितुवा मानव बस्ती छिर्न थालेपछि बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्किँदै गएको छ। पछिल्ला केही महिनामा चितुवाको आक्रमणमा परेर दुई जनाको ज्यान गइसकेको छ भने ११ जना घाइते भएका छन्।
चितुवाको आक्रमण: ज्यान गुमाउने बालिका र घाइते हुने क्रम
वैशाख १५ गते गुलरिया नगरपालिका–८ स्थित सर्यु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो। चैत ३० मा बारबर्दिया नगरपालिका–४ की उर्मिला थारु, चैत ३१ मा गुलरिया–४ का विखु थारु, र चैत २० मा गुलरिया–५ का ७ वर्षीय सर्जन चौधरी घाइते भए। यसअघि, माघ २५ गते मधुवन–९ गंगा बस्तीमा चितुवाले बाँके डुढुवा–६ का बालक रिहान चौधरीको ज्यान लिएको थियो। माघ १० मा राजापुर–८ पुरैनामा चितुवाले ५९ वर्षीय विललु थारुलाई घाइते बनाएको थियो।
चितुवा किन बस्ती पसे?
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीका अनुसार वन क्षेत्रभित्र आहारा अभाव र बाघको उपस्थितिका कारण चितुवा बस्ती पस्न बाध्य भएको हो। साथै, कतरनियाघाट वन्यजन्तु आरक्ष (भारत) बाट समस्या उत्पन्न गराउने चितुवा सीमावर्ती बर्दिया क्षेत्रमा छाडिएको अध्ययनले देखाएको छ।
स्थानीय त्रसित, पशु चौपायासमेत मारिन थाले
गुलरिया टेपरीका स्थानीय धनेश गोडियाका अनुसार चितुवाले बाख्रा, कुकुरलगायत पशुचौपायासमेत मार्न थालेको छ। यसले बस्तीमा भयको वातावरण बनाएको छ। चितुवाको आक्रमणबाट जोगिन समुदायले आफ्नै पहलमा बारीमा खोर राख्ने, क्यामेरा ट्रयाप जडान गर्ने जस्ता उपाय अपनाएका छन्।
सरकारी प्रयास र चुनौती
डिभिजन वन कार्यालयले चितुवा नियन्त्रण गर्न खोरमा बाख्रा राख्ने प्रयोग थालेको छ। तर एक महिनादेखि प्रयास जारी रहे पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामका अनुसार चितुवालाई वनमै रोक्ने दीर्घकालीन उपाय आवश्यक भइसकेको छ।
चितुवाको संख्या अझै अज्ञात
बर्दिया निकुञ्जमा करिब १२५ वटा बाघ छन् तर चितुवाको गणना अझै गरिएको छैन। सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा ३–४ वटा चितुवा सक्रिय रहेको अनुमान गरिएको छ, जसले दुर्लभ कृष्णसारहरूमाथि पनि आक्रमण गर्दै आएका छन्।
प्रतिक्रिया