वीरगन्ज :

यातायात व्यवस्था कार्यालय कलैया : प्रमुख अरविन्दर दासको अफर – घुस दिनुस, लाइसेन्स लिनुस !!

श्रेणी : BANNER

1 month
Pradeep Sah
1.8kViews
1766 Shares

बारा, २२ फागुन – यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अरविन्दर दासले दलाल परिचालन गरी नियम–कानुनको धज्जी उडाउँदै कार्य सम्पादन गरिरहेको खुलेको छ। सवारी चलाउन नजान्नेले पनि घुस दिएपछि लाइसेन्स पाउन थालेपछि बारा यातायात व्यवस्था कार्यालय कलैयामा दास सरुवा भएर आएदेखि सेवाग्राहीको भीड ह्वात्तै बढेको छ। वीरगञ्ज यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवस्था कार्यालय रौतहट गौरमा हुँदा पनि घुसकाण्ड तथा अवैध रकम असुलीमा मुछिँदै आएका दासले आफ्नो पुरानै शैली अपनाउँदै बारा यातायात व्यवस्था कार्यालयमा लुट मच्चाएका छन्।

उनले बिना पैसा काम नहुने व्यवस्था आफ्ना मातहतका दलालहरू मार्फत सेवाग्राहीसम्म पुर्‍याउन लगाएर असुली धन्दा चलाएका छन्। उनले घुस वापतको रकम असुलीका लागि कलैयादेखि वीरगञ्जसम्म र गौरदेखि पथलैयासम्म दलाल परिचालन गरेका छन्।

दलालहरू मार्फत आएको रकमको हिसाब–किताब तथा रिपोर्टिङका लागि कार्यालयका नामुद घुसयाहा कर्मचारी सत्यनारायण साहलाई दासले जिम्मा दिएका छन्। उनी मार्फत आएका कामलाई अन्तिम स्वीकृति दिने काम भने दास स्वयंले नै गर्दै आएका छन्। दास आएदेखि, दाससँग पहिलेदेखि नै काम गरिसकेका साहकै कार्यालयमा दबदबा रहेको कार्यालयकै कर्मचारीहरूको भनाइ छ।

यातायात व्यवस्था कार्यालय बारामा भ्रष्टाचार यति चरम सीमामा पुगेको छ कि खबर प्रमुख जिल्ला अधिकारीसम्म पुगेको छ। बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले गंगापुरस्थित कार्यालयको अनुगमन समेत गरेको थियो। अनुगमनकै क्रममा प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा आधा दर्जन दलाललाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो। तर, त्यो घटनाबाट पनि दासको व्यवहारमा कुनै परिवर्तन नआएको स्रोतको दाबी छ।

दासको अवैध असुली, गैरकानुनी कार्य तथा अन्य गतिविधिका कारण कार्यालयका कर्मचारीहरू समेत आजित बनेका छन्। नाम नबताउने सर्तमा एक कर्मचारीले दासका कारण यहाँका अधिकांश कर्मचारीको जागिर नै धरापमा परेको बताए। ती कर्मचारीका अनुसार कुनै पनि बेला कार्यालयमा अख्तियारको टोली छापा मार्न सक्ने र थुप्रै कर्मचारीको जागिर नै खतरामा पार्ने गरी दासले कार्य गरिरहेका छन्। शाखाहरूलाई लेभी (असुली रकम) तोकिएको छ, जसका कारण शाखाका कर्मचारीहरू समेत भ्रष्टाचारमा लिप्त छन्। लेभी नबुझाउने शाखा प्रमुखलाई सरुवा गरिदिने धम्की दिने गरेका छन् दासले।

कर्मचारी स्रोतका अनुसार ट्रायलमा खटिने ट्राफिक कार्यालयका कर्मचारीहरूलाई समेत कार्यालय प्रमुख दासले घुसबापत उठेको रकमको भागबण्डा मिलाउने गरेका छन्। कार्यालयमा लाइसेन्स वितरण मात्र नभई, ब्लुबुक नवीकरण, सवारी नामसारी तथा अन्य सेवाहरूका लागि समेत घुस अनिवार्य बनाइएको छ। दासले “पैसा दिनुस, लाइसेन्स लिनुस” भन्ने नीति कार्यालयमा लागू गरेका छन्।

दुई पांग्रे, चार पांग्रे तथा भारी सवारीका अयोग्य चालकलाई पैसाको बलमा वितरण भइरहेको लाइसेन्सका कारण दुर्घटनाको जोखिम उच्च बनेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको डाटाका अनुसार माघ महिनामा मात्र २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटना भएका छन्, जुन कुल दुर्घटनाको ५४ प्रतिशत हो। जस मध्ये सबैभन्दा धेरै दुर्घटना मधेश प्रदेशमा भएको देखिन्छ। यस कारण यातायात व्यवस्था कार्यालय बारामा नियामक निकायको ध्यान पुग्न जरुरी छ। साभार- नेपाल पोष्ठ डेली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *